भण्डारीले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र



गणेश साम्पाङ, पाँचथर
पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुर की १०१ बर्षिया भगवती भण्डारी राष्ट्रिय परिचय पत्र लिने नेपालकै पहिलो ब्यक्ति बन्नु भएको छ । गृह मन्त्री रामबहादुर थापाले फिदिममा आयोजित एक कार्यक्रमका वीच भण्डारीलाई परिचयपत्र प्रदान गर्नुभयो ।

मन्त्री थापाले पनि सोही अवसरमा भण्डारीबाट परिचयपत्र लिदै राष्ट्रिय परिचयपत्र लिने दोस्रो व्यक्ति बन्नु भएको छ । सबै बिबरण सबै एकै कार्डमा अटाउन सक्ने विशेषता रहेको परिचय पत्र पाउने आफू नेपालको पहिलो व्यक्ति हुन पाएकोमा खुशी देखिनु भएकी भण्डारीले सरकारको जय होस भन्दै धन्यवाद दिनुभयो ।

केही वर्षयता निकै चर्चामा रहेको राष्ट्रिय परिचयपत्र बितरण कार्यक्रमको शुभारम्भ गर्न मन्त्री थापा सोमबार फिदिम आउनु भएको थियो । यो कामको शुरुवात पाँचथरबाट शुरु गरिए पनि आगामी दुई वर्षभित्र क्रमशः ७७ जिल्लाबाटै हुने बताउँदै मन्त्री थापाले भन्नुभयो–‘यस्तो परिचय पत्र नागरिकको शान्ति सुरक्षा, सुशासन र समृद्धीसँग गाँसिएको हुनाले यसको छुट्टै महत्व छ ।’

राष्ट्रिय परिचयपत्र बितरणका लागि गत असार ९ गतेदेखि पाँचथरबाट बिबरण संकलन शुरु गरिएको थियो । पहिलो चरणमा एक लाख १७ हजार थान परिचय पत्र वितरण गरिने बताइएको छ । त्यस मध्ये सात हजार सिंहदरबारका कर्मचारीलाई र बाँकी पाँचथरबासीलाई प्रदान गरिने राष्ट्रिय परिचयपत्र ब्यबस्थापन केन्द्रका निर्देशक चोलेन्द्र न्यौपानेले बताउनुभयो ।

परिचयपत्रका लागि पाँचथरबाट ५२ हजार २ सय ५७ जनाले बिबरण दर्ता गराएका उहाँले जानकारी दिनुभयो । सो कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सहित संघिय तथा प्रदेशका सांसदहरु समेत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्