छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए



प्रकाश पन्त, वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ ।
अस्पतालमा आइतबार कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।बालिकाहरुलाई अस्पतालको एनआईसीयूमा राखिएको छ । बालिका र आमा स्वस्थ छन् ।

अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको बताउनुभयो । ‘यो विश्वकै दुर्लभ समस्या हो’, उहाँले भन्नुभयो– ‘भु्रणबाट छुटिने बेला छुटिएन भने यस्तो समस्या आउँछ ।
दुई–तीन लाख बच्चा जन्मदा एक जनामा यस्तो समस्या देखिन्छ ।’ अन्तिम भिडियो एक्सरे गर्न बाँकी रहेकाले यो पछि मात्रै शिशुहरुको कलेजो र मुटु जोडिएको छ वा छैन भन्नेबारेमा थाहा हुनेछ ।

मुटु एउटै वा जोडिएको छ भने अप्रेसन हुँदैन । छैन भने अप्रेसनबाट अलग्याउन सकिने डा. केसीले बताउनुभयो । मेडिकलको भाषामा यस्तो समस्यालाई थोराको उल्फालो पेगस भन्ने गरिएको उहाँले उल्लेख गर्नुभयो ।
‘आमा गर्भवती भएपछि नियमित गर्भ चेकजाँच नगर्दा यस्तो समस्या देखिएको हो । गर्भवती आमाले कम्तीमा पनि तीनपटक भिडियो एक्सरे गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘यदि २२ हप्ताभित्रै भिडियो एक्सरे गरेको भए, यस्तो समस्या आउने थिएन ।’

जिल्ला अस्पताल कालिकोटले रेफर गरेपछि बिर्खबहादुरले श्रीमती ललितालाई आइतबार प्रदेश अस्पतालमा ल्याएका थिए । अस्पतालमा भर्ना भएलगत्तै डा. राजीव शाह नेतृत्वको टोलीले अप्रेसन गरी बच्चा निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्