मौरी पालक महासंघ कपिलवस्तुको १० औं साधारणसभा सम्पन्न



सीताराम चौधरी, चन्द्रौटा ।
मौरी पालक महासंघ जिल्ला शाखा कपिलवस्तुको १०औं साधारणसभा सोमबार चन्द्रौटामा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष मोहन अधिकारीको अध्यक्षता र शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले स्वरोजगारका लागि मौरी पालन व्यवसाय अति नै उपयोगी रहेकोमा जोड दिनुभयो ।

मौरी पालन व्यवसायमा खासै लगानी गर्न नपर्ने तर मनग्य आम्दानी हुने पेशा भएकाले यसतर्फ लाग्न सबैलाई उहाँले प्रेरणा दिनुभयो । मौरी पालनसम्बन्धी आफू यसअघि अनविज्ञ रहेको दर्शाउँदै उहाँले मौरी पालक महासंघको कार्यक्रमबाट बल्ल यसको महत्व बुझेको बताउनुभयो । पर्यावरणका लागि मौरी अति नै लाभदायक भएकाले मौरीमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस व्यवसायका लागि नगरापलिकाबाट हुन सक्ने सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । यसतर्फ खटेर लाग्ने हो भने माछाको पहिचान बनेझैं मौरीपालन गरी प्रशस्त मह उत्पादन गरी मह निर्यात गर्ने जिल्लाको पहिचान कायम गर्न आफूले पनि भरपूर सघाउने उहाँले आश्वासन समेत दिनुभयो ।

कार्यक्रममा नेपाल मौरीपालक महासंघ प्रदेश ५ का अध्यक्ष रामहरि शर्माले कपिलवस्तुलाई मौरी तथा मौरीपालनबाट हुने फाइदाको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, कपिलवस्तु कृषि ज्ञानकेन्द्रका प्रतिनिधि प्राविधिक सहायक विनोद कुमार श्रीवास्तव, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, शिवराज नगरपालिका कृषिशाखा प्रम्ुख सुजिता शर्मा लगायतले मौरीपालन तर्फ लाग्न कृषकहरुलाई उत्साहित गरेका थिए ।

कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष मोहन अधिकारीले आगामी योजना प्रस्तुत गर्नुभएको थियो भने लिलापति घिमिरेले प्रगति प्रतिबेदन र सीता पोख्रेलले ४४ हजार ५सय ७५ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्