लागूऔषध प्रयोगमा महिलाको सङ्ख्या बढ्दै



उत्तम नेपाल, झापा ।
पछिल्लो समय लागूऔषधको प्रयोगकर्तामा महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०७४÷०७५मा तीन जना महिला पक्राउ परे भने चालू आर्थिक वर्षको चार महिनामा नै(कात्तीक मसान्त) सम्ममा ८ जना महिला पक्राउ परेपछि महिलाहरुको संलग्नता बढ्दै गएको हो ।

चार महिनाको अवधिमा झापाका विभिन्न स्थानबाट ८२ जना लागूऔषध दुव्र्यसन पक्राउ परे मध्ये ४८ जनालाई मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा एक सय ७८ जना पक्राउ परेकामा एक सय २५ जनालाई मुद्दा दर्ता गरिएको थियो । प्रहरीको सक्रियता जति बढे पनि लागूऔषधको दुव्र्यसनी घट्नुको सट्टा झन बढ्दो छ ।

नेपाल–भारत सीमा जोडिएको झापामा लागूऔषध प्रयोगमा महिलाको संलग्नता बढ्दै गएको जिल्लाका एसपी भीमप्रसाद ढकालले बताए । सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि प्रहरीले रोकथामको लागि निरन्तर लागीपरेको एसपी ढकालको भनाइ छ । भारतीय बजार नजिकै भएका कारण लागूऔषध खाएर र केहीले लुकाएर ल्याएको खण्डमा पक्राउ गरेर कारबाही अघि बढाइरहेको उनले जनाए ।ंं युवायुवती लागूऔषधको लतमा बढी फसेपछि प्रहरीले पछिल्लो समय विद्यालय तहमा नै विभिन्न अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ । यस्ता घटनामा प्रहरीले सेवनकर्ता र कारोबारी दुबैलाई कारबाही गर्दै आइरहको जनाएको छ ।

सेवनकर्ता शुरुको अवस्थामा भए परामर्श दिई अभिभावकको जिम्मा लगाउने, पटके भए सुधारगृहमा पठाउने र साथमा लागूऔषधसहित भेटिएमा प्रहरीले कारबाहीका लागि अनुसन्धान अगाडि बढाउने गरेको उनले जनाए । यसका प्रयोग कर्ता गाँउमा भन्दा शहरमा धेरै रहेको उनले जनाए । गतआर्थिक वर्षमा शहरबाट एक सय २३ जना पक्राउ पर्दा गाउँबाट ५५ जनालाई पक्राउ गरिएको उनको भनाइ छ । त्यस्तै चालूआर्थिक वर्षको चार महिनामा शहरबाट ६७ जना पक्राउ पर्दा १५ जना गाउँबाट पक्राउ परेको उनले बताए । लागूऔषधका कारण घरपरिवार र समाजमा झै–झगडा, द्वन्द्व र अशान्तिसँगै चोरी, डकैती, लुटपाट, आगजनी, काटमार र तोडफोड, बलात्कार, आत्महत्या जस्ता जघन्य अपराध हुने गरेका प्रहरीले जनाएको छ ।

लागूऔषध सेवनका कारण एचआईभी÷एड्स, यौनजन्य अन्य रोग, हेपाटाइटिस बी र सी, क्षयरोग तथा मानसिक रोग लगायत प्राणघातक रोग समेत लाग्ने गरेको मेचीअञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरीटेण्ड डाक्टर पिताम्बर ठाकुर बताउँछन् । यसको लत पछिल्लो समय महिलामा देखिदै गएको उनले जनाए । औषधको प्रयोग गर्न रकम अभाव भएपछि चोरी,डकैती समेत हुने भएकोले सामाजिक सदभाव खलबलिने उनको भनाइ छ ।

लागूऔषध नियन्त्रण ऐन, २०३३को दफा ४मा लागूऔषध सम्बन्धी कसुर तथा सजायको व्यवस्था रहेको छ । अपराधको मात्रालाई हेरेर न्यूनतम एक वर्ष जेल सजायदेखि एक लाख रुपैयाँसम्म जरिवाना छ ।

प्रतिक्रिया दिनुहोस्