महाकालीबाट मापदण्ड विपरित धमाधम बालुवा–गिट्टी उत्खनन,तटबन्धमा गम्भीर असर



मनोज भट्ट, महेन्द्रनगर ।
महाकाली नदीबाट तोकिएको मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ड, नहर, तटबन्धको ५ सय मिटर ‘अपस्ट्रिम र डाउनस्ट्रिम’ भित्रबाट ढुंगा, बालुवा, माटो झिक्न नपाइने मापदण्ड भएपनि नदीबाट धमाधम उत्खनन् भइरहेको छ ।
एशियाकै दोस्रो लामो झोलुंगे पुल, महाकाली नदीको वारपार निर्माण गरिएका तटबन्ध छेवैबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन् भइरहेको छ । वारी रहेका दोधारा चाँदनी र भीमदत्त नगर ११, १२ र १३ नम्बर वडाका एरिया क्षेत्रबाट अवैध रूपमा उत्खनन् भइरहेको हो ।
गत वर्षसम्म जिल्ला समन्वय समिति कञ्चनपुरले महाकाली नदीको ढुंगा, बालुवा, गिट्टी र माटोमा रोउल्टी उठाउँदै आएको थियो । तर, चालु आर्थिक वर्षदेखि कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र महाकाली नगरपालिकाले रोयल्टी उठाउन लागेका छन् । दुवै स्थानीय तहबीच प्राकृतिक स्रोत बाँडफाँटबारे बिबाद हुँदा महाकाली र भीमदत्त नगरपालिकाले आफै रोयल्टी उठाइरहेका छन् ।
उनीहरु दुवैले अझैसम्म पनि ठेक्का दिएका छैनन् । असोजदेखि स्वयमं पारी महाकाली र वारी भीमदत्त नगरपालिकाले रोउल्टी उठाउन लागेका हुन् । नदीबाट मापदण्ड विपरित उत्खनन् हुँदासमेत दुवै स्थानीय सरकारले पहल गरेका छैनन् । ५ सय मिटर भन्दा टाढाबाट उखनन् गर्नुपर्ने भएपनि पुल र तटबन्धकै ५० देखि ४ सय मिटर भित्रबाटै ढुंगा, बालुवा, उत्खनन् हुँदा पुल र तटबन्ध जोखिममा परेको छ ।
महाकाली तटिय क्षेत्रका स्थानीय एवं भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले उत्खनन् गर्ने एरिया छुट्याइदिएको बताए । उनले कहिलेकाही उत्खनन् गर्ने मजदुरले तटबन्ध र पुलकै छेउबाट उत्खनन् गरिदिने बताए । ‘तोकिएको क्षेत्रभन्दा बाहिर गएर ढुंगा संकलन गर्न पाइँदैन, ‘वडाध्यक्ष शाहीले भने, ‘मापदण्ड विपरित उठाउने कार्य रोक्न चौकिदार राखिएको छ ।’
महाकाली नदीको कटानी रोक्न तटबन्ध निर्माण गर्दै आएको जनताको तटबन्ध फिल्ड कार्यालय ७ नम्बर महेन्द्रनगरले तटबन्धकै छेउबाट उत्खनन् भइरहेको विषयमा पटक–पटक दुवै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गर्दासमेत रोकिएका छैन । जनताको तटबन्ध फिल्ड कार्यालय ७ नम्बर महेन्द्रनगरका प्रमुख प्रचण्डदेव बिष्टले मापदण्ड विपरित भइरहेको उत्खनन् रोक्न सम्बन्धित निकायलाई पत्राचार गर्दासमेत सुनुवाइ नभएको बताए ।
उनका अनुसार अवैध रूपमा अन्धाधुन्ध नदीजज्य बस्तु उत्खनन् हुँदा नदीले वर्षातमा धार परिर्वतन गर्दा तटबन्धमा समेत असर पर्ने भएकाले समयमै सचेत गराइएको छ । तटबन्ध छेउबाटै कहाँ–कहाँ र कुन–कुन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा निकालिरहेका छन् र त्यसको अध्ययन गर्न ईन्जिनियर कलम महताको नेतृत्वको टोली खटाएको छ ।
टोलीले अध्ययन गरेर प्रतिवेदन पेश गर्ने छ । महाकाली र भीमदत्त नगरपालिकाले आफूले रोयल्टी उठाइरहेका कुनै पनि व्यक्ति समूहले मापदण्ड विपरित उत्खनन् नगरेको दाबी गरे ।
स्थानीय तहले महाकाली पुल निर्माणको ठेकेदारले अवैध उत्खनन् गरेको आरोप लगाए । भीमदत्त नगरपालिका प्रवक्ता राजेन्द्र पाण्डेले मापदण्ड विपरित नदीबाट उत्खनन् गर्न नपाइने बताउँदै उक्त कार्य कसैबाट भइरहेको भए तुरून्तै रोकिने बताए ।
दुवै नगरपालिकाबीच स्रोत बाँडफाँडको विषय टुंगो लागे भीमदत्तनगरले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का दिने बताए । हिउँदका बेला तटबन्ध र पुलकै छेउछाउबाट ठूल्ठुला खाल्टाखुल्टी पर्ने गरि उत्खनन् गर्दा वर्षातका बेला नदीले धार परिर्वतन गर्दै गएको वर्षातमा तटबन्ध भत्काएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्