शिक्षक नहुँदा कम्प्युटर थन्किए



बर्दिवास ।
महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित सीतापुर माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् ।

विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका हुन् । कम्प्युटर देखेर विद्यार्थी सिक्न उत्सुक रहे पनि शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताउनुभयो ।

उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा लाखौं मूल्यका कम्प्युटर ‘कवाड’ बन्ने स्थितिमा रहेका उहाँले जानकारी दिनुभयो । विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार १४२ छात्रछात्रा छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सङ्ख्या १६० रहेको छ ।

शिक्षक कमल श्रेष्ठका अनुसार ८ कक्षा माथिका छात्रछात्राले कम्प्युटर शिक्षाबारे दिनहुँ चासो राख्ने गरेका छन् । नगर प्रमुख सञ्जिवकुमार साहले नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताउनुभयो ।

उक्त विद्यालयको स्वामित्वमा विभिन्न ठाउँमा गरी २० बिघा भन्दा बढी जग्गा रहेको र जग्गाको भाडासहित अन्य आम्दानी स्रोत राम्रै रहेकाले विद्यालय आफैंले समेत कम्प्युटर शिक्षकको व्यवस्था गर्नसक्ने अभिभावक बताउछन् । विद्यालय प्रशासनले आम्दानी तथा खर्च कहिल्यै पारदर्शी नगरेको अभिभावकको आरोप छ ।
रासस

प्रतिक्रिया दिनुहोस्