श्रीलंकाका राष्ट्रपतिद्वारा शक्ति संघर्ष समाप्त गर्ने उद्देश्यले वार्ता आह्वान



कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति संघर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आह्वान गरेका छन् ।

गत महिना २६ अक्टोबरमा प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ । राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्त अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिङ्घेले अदालतमा मुद्दा दायर गरेका थिए । साथै, पुनस्र्थापित संसदले मतदान गरी राजापाक्षलाई पदबाट हटाएको छ ।

रनिल विक्रमासिङ्घेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गर्दै आएका छन् । ‘राष्ट्रपति सिरिसेनाले संसदमा रहेका दलका प्रतिनिधिहरुसँग बैठक डाकेका छन्’ राष्ट्रपतिको कार्यालयले जनाएको छ, ‘राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाउनु भएको हो । उहाँले संसदको कार्यवाहीलाई नियमित गर्न चाहनु भएको छ ।’

गतसाता राजापाक्ष पक्षधरका सांसदहरुले अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन संसदमा फर्निचर तोडफोड गर्नुका साथै विपक्षीहरुमाथि खोर्सानीको धूलो फालेका थिए ।

राजापाक्षका विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिंगेले आफ्नो सरकार पुनस्र्थापित हुनुपर्ने माग गरिएको थियो, तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

विक्रमासिंगेले श्रीलंकामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक संकट निम्त्याउने गरी शक्ति संघर्ष भएपनि आफू राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट पारे ।

राष्ट्रपतिले विक्रमासिंगेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसद समेत विघटन गरेका थिए । तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद पुनस्र्थापना गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्