देशभरका कपडा उद्योग बन्द



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल कपडा उद्योग संघले शनिबारदेखि देशभरका २ सय ५० कपडा उद्योग बन्द गरेको छ । सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको भन्दै एक हप्ताका लागि उद्योग बन्द गरेको हो ।

संघले शनिबार काठमाडांैमा पत्रकार सम्मेलन गरी रुग्ण स्थितिमा रहेका स्वदेशी कपडा उद्योग बचाउन उद्योग बन्द गरेको घोषणा जनाएको छ ।
कपडा उद्योगलाई २० वर्षदेखि दिँदै आएको सुविधा सरकारले आर्थिक ऐनमार्फत कटौती गरेको भन्दै विरोध स्वरुप शनिबारदेखि मंसिर ७ गतेसम्मका लागि देशभरका कपडा उद्योग बन्द गरेको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिनुभयो ।

अध्यक्ष प्रधानले भन्नुभयो–‘सरकारले एकातिर ‘समृद्ध नेपाल “सुखी नेपाली,’ को नारा राख्ने र अर्कोतिर यसरी उद्योग नै बन्द हुने गरी कदम चाले कसरी हुन्छ समृद्ध ?’

सरकारको निर्णयप्रति बारम्बार ध्यानकर्षण गराउँदा पनि सुनुवाई नभएकाले सांकेतिक विरोध गरेको उहाँले बताउनुभयो ।

नेपालमा कपडा उद्योगमा अर्बौं रुपियाँ लगानी रहेको र त्यसबाट ५० हजार श्रमिकले रोजगारी पाएको भन्दै सरकारले आर्थिक ऐनमार्फत भ्याट फिर्ता तथा समायोजन प्रावधान हटाएसंँगै त्यसको प्रत्यक्ष प्रभाव कपडा उद्योगमा कार्यरत श्रमिक र तीनमा आश्रित अढाई लाख नेपालीमा परेको प्रधानको भनाइ छ ।
यस्तै कार्यक्रममा नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले धागो उद्योग तथा कपडा उद्योगको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै यसको जगेर्ना गर्न सरकारले यसको चोरी पैठारीमा सचेत हुनुपर्ने बताउनुभयो ।

नेपालमा वार्षिक १ अर्ब ५ करोड मिटर कपडा खपत हुने गरेको र ६ करोड २५ मिटर पहिरनका कपडा उत्पादन हुने गरेको छ । बाँकी भन्सार बिन्दुबाट न्यँन बिजकीकरण तथा चोरी पैठारीबाट नेपाल भित्रिरहेको जनाइएको छ ।
सरकारले कपडा उद्योगको दीर्घकालीन समस्या समाधान गर्ने नीति ल्याए ५ वर्षभित्र नेपालका कपडा उद्योगले मात्रै ३ लाख थप रोजगारी सिर्जना गर्ने संघले जनाएको छ । त्यस्तै उद्योगको समस्या सम्बोधन भए ५० करोड मिटर कपडा उत्पादन गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्