किन आनाकानी ?



राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकारी अधिकार हुन्न, यस्तो पद त आलंकारिक मात्रै हो भन्ने सुनेको धरहरा हिजो आज रनभुल्लमा प¥या छ । राष्ट्रपति कार्यालय साँघुरो भो रे । हेलिप्याड अनि के के प्याड बस्न, राख्न मिल्ने ठाउँ पुगेन रे । साँघुरो निवासलाई फराकिलो बनाउन शितल निवास आडैमा रहेको प्रहरी तालिम केन्द्र भए राष्ट्रपति महोदयलाई छेलोखेलो हुने खवर अहिले निकै छाएको छ ।

राष्ट्रपति महोदयको प्रभाव हो कि निकै आवश्यकता खट्किएको हो यही बेला उपराष्ट्रपति कार्यालय पनि साँघुरो भएको सुनियो । बहादुर भवनमा उपराष्ट्रपति पुन नआटाउने भएछन्, उनी पनि लैनचौरस्थित समाज कल्याण परिषद्को फराकिलो कम्पाउन्डमा छिटै बसाईँ सर्ने भएछन् । अघिल्लो कार्यकालमा शितल निवास र बहादुर भवनमै अटाएका भण्डारी र पुनको कार्यकारी अधिकार थपिएको हो कि उनीहरुका पाहुनापाछा निकै बढेका हुन् धरहराले बुझ्न सक्या छैन ।

शितल निवास र बहादुर भवन धेरै साँघुरो भएको भए भण्डारी र पुनले नजिकैको नारायणहिटी चाहिँ किन नरोज्या होला, आखिर फराकिलो ठाउँ र संरचना नै चाहिएपछि । ऊ बेला राणाजीहरुले बनाइदिएको सिंहदरवाटै प्रधानमन्त्री र अन्य मन्त्रीहरुको काम कार्वाही चलिरहेका बेला नारायणहिटी ताक्न किन आनाकानी ? सल्लाहकारहरु यस्तो सल्लाह दिन किन चुकिरहेका छन् ?

प्रतिक्रिया दिनुहोस्