सेलाङको बाँसखर्कमा एकीकृत बस्ती बनाइने



चौतारा ।
जग्गा अभावमा भूकम्प गएको साँढे तीन वर्षदेखि अस्थायी टहरामा बस्दै आएका सिन्धुपाल्चोक सेलाङका विस्थापित १९ परिवारको लागि एकीकृत बस्ती निर्माण हुने भएको छ । पुस्तौंदेखि बस्दै आएको ठाउँमा २०७२ वैशाखको विनाशकारी भूकम्पले जमीन चिरा परी पहिरोको उच्च जोखिममा परेर विस्थापित जीवन बिताइरहेका ती परिवारलाई जग्गा खरीद गरिदिएपछि एकीकृत बस्ती निर्माण हुने भएको छ ।

जुगल गाउँपालिका–१ बाँसखर्कमा बस्दै आएका ती परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको रु दुई लाखका दरले रु ३८ लाखमा जग्गा खरीद गरी शुक्रबार संयुक्त जग्गा धनी पूर्जा वितरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख भरत थापाले बताउनुभयो ।

उनीहरुले पुनःनिर्माणका लागि पहिरो किस्ता रु ५० हजार लिएर पनि उपयुक्त जग्गा अभावमा आवास निर्माण गर्न सकेका थिएनन् । विस्थापित परिवारले संयुक्त जग्गा धनी पूर्जा पाएपछि सो स्थापनामा अक्सफाम नेपाल र जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकका साझेदारीमा एकीकृत बस्ती निर्माण हुने भएको छ । त्यहाँ बनाइने एकीकृत बस्ती आगामी ६ महीनाभित्र सम्पन्न गरिने बताइएको छ । सोही स्थापना रहेका अन्य २५ परिवारको लागि पनि आवास निर्माणको प्रक्रियामा रहेको जनहितका जिल्ला राजेन्द्र शर्माले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्