कुष्माण्डमा कुभिण्डो दान गर्नेको भिड



हेटौंडा ।
कुष्माण्ड सरोवर त्रिवेणीधाममा शनिबार लागेको कुष्माण्ड नवमी मेलामा एक सय आठ धारामा स्नान तथा कुभिण्डो दान गरियो ।
नेपालमा एकमात्र यस स्थानमा लाग्ने यस प्रकारको मेलाको विशेष महत्व रहेकोले कुभिण्डोमा सुनको प्रतिमा राखेर दान गरे पृथ्वी दान गरेबराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

स्कन्दपुराणको हिमवतखण्डको सोह्रौ अध्याय ७६ औं श्लोक र महाभारतको आदिपर्व ५६ औं श्लोकमा उल्लेख भएअनुसार १ सय ८ गौमुखी धारामा स्नान गर्दा रोग निवारण हुने र कुष्माण्ड नवमी मेलामा कुभिण्डो दान गर्दा मुक्ति पाइनेछ ।

मेलामा भक्तजनले कुभिण्डो र त्यसमाथि सुवर्ण (सुन) दान गर्ने गरेका छन् । उत्तरबाहिनी नदीको मूलबाट प्रवाहित त्यहाँको १ सय ८ गौमुखी धारामा स्नान गर्नेको लर्को लाग्ने गर्दछ । आफ्ना भक्तजनहरुलाई तापहरुबाट मुक्त गराउने माताका रुपमा कुष्माण्ड परिचित छिन् । उनै कुष्माण्डको नामबाट स्थापित कुष्माण्ड सरोवर त्रिवेणीधामले वर्षैनी मेला गर्ने गर्दछ ।

विश्वकै चार धाममध्ये पर्ने हेटौंडा–९ मा कुष्माण्ड सरोवर त्रिवेणीधाम छ । उक्त मेला नेपालको एकमात्र ठाउँ हेटौंडामा लाग्ने गरेको हो । मेला भर्न मकवानपुरसहित काठमाडौं, चितवन र तराईका विभिन्न जिल्लाबाट दश हजार बढी श्रद्धालु भक्तजन आएको विकास समिति अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो । तीन नदीको संगममा रहेको यस ठाउँमा कुष्माण्ड नवमीका दिन कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्धी प्राप्त गरेको दिनको रुपमा विश्वास गरिन्छ ।

त्यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, व्रह्मकुण्ड, विष्णुपादुका, एकसय आठ गौमुखी धारा, कुष्माण्ड भगवतीबीच सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैंचा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्