रशिला ३ विधाको फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत तीन विधामा फाइनल पुगेकी छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको प्रतियोगिताअन्तर्गत ३ सेमिफाइनल जित्दै उपाधि निकट पुगेकी हुन्। उनले महिला सिंगल्स, डबल्स र यु १७ गल्र्समा धाक जमाउँदै एकै दिन तीन फाइनलको यात्रा तय गरेकी छिन्। महिला सिंगल्समा उनले एपीएफकी जेशिका गुरुङलाई २१–१३, २१–११ ले पन्छाइन्। जेशिकाले गत संस्करणमा उपाधि जितेकी थिइन्। तर यसपटक उनको यात्रामा रशिलाले पूर्णविराम लगाइदिएकी छिन्।

रशिलाले महिला सिंगल्सको फाइनलमा नेपाल च्याम्पियन नङ्सलदेवी तामाङसँग भेट गर्नेछिन्। आर्मीकी नङ्सलले सेमिफाइनल खेलमा एपीएफकी शोभा गौचनलाई २१–१२, २१–८ ले हराएकी हुन्। योसँगै उपाधि आर्मीकै हुने पनि पक्का भएको छ।

यस्तै महिला डबल्सतर्फ रशिला र नङ्सलको जोडीले जेष्ठकी सीता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई पराजित गरिन्। फाइनल पुग्ने क्रममा आर्मीको यी जोडीले सो खेल २१–११, २१–११ ले जिते। उनीहरूको सामना एपीएफको जोडी पुजा श्रेष्ठ र जेशिकासँग हुनेछ। रशिलाले यु—१७ गल्र्सतर्फको फाइनलमा आर्मीकै रञ्जना भट्टसँग उपाधिका लागि खेल्नेछिन्। उनले सेमिफाइनल खेलमा मोरङकी रोज पाण्डेलाई २१–९, २१–६ को सोझो सेटमा पराजित गरिन्। यस्तै दोस्रो सेमिफाइनल खेलमा रञ्जनाले मोरङकै सीमा राजबंशीलाई २१–१६, २१–१५ ले पन्छाउँदै फाइनल प्रवेश गरेकी थिइन्।

यसैगरी पुरुष सिंगल्सतर्फ आर्मीका रत्नजित तामाङ जित निकाल्दै फाइनल प्रवेश गरे। उनले आफ्नै क्लबका रुकेश महर्जनमाथि २१–११, २१–१४ को जित निकाले। रत्नको भेट एपीएफका दिपेश धामीसँग हुनेछ। दिपेशले सेनाका नवीन श्रेष्ठलाई २१–१७, २१–६ ले पाखा लगाए। पुरुष डबल्सतर्फ रत्नजित र नवीनको जोडीले फाइनलमा दिपेश र विजित थापा मगरको जोडीसंगको भेट पक्का गर्यो। यसै गरी यु १७ ब्वाइजतर्फको फाइनलमा प्रिन्स दाहाल र दिवस शंकरबीच प्रतिस्पर्धा हुनेछ। मास्टर्स ४५ वर्षमाथिको खेलमा आर्मीका सुभाष श्रेष्ठ र भूमि गुर· तथा जेष्ठ ब्याडमिन्टनका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडी फाइलन प्रवेश गर्योे।

प्रतिक्रिया दिनुहोस्