क्याम्बोडिया नरसंहारमा दुई खमेर रुज नेतालाई दोषी ठहर्याइयो



न्होमपेन्ह, (एजेन्सी)
म्बोडियामा १९७० को दशकमा शासन गरेका खमेर रुजका दुई वरिष्ठ नेतालाई पहिलोपटक नरसंहारको दोषी ठहर्याइएको छ।

दोषी ठहर्याइएका ९२ वर्षीय नुआन चिया खमेर रुज सरकारमा विचारधारा प्रमुख थिए भने ८७ वर्षीय ख्यु साम्पान पुर्वराष्ट्रप्रमुख थिए। ती दुवै नेतामाथि संयुक्त राष्ट्रको समर्थन प्राप्त एक आयोगले करिब २० लाख नागरिकको हत्याका लागि जिम्मेवार भएको आरोप लगाएको थियो। आयोगका अनुसार क्याम्बोडियामा बन्दुकको नालमा शासन चलाएको संगठन खमेर रुजको शासनकालमा भियतनामी मुलका चाम मुसलमानहरूलाई खोजीखोजी हत्या गरिएको थियो।

ती दुवै नेता पहिले नै जेलमा छन् र आजीवन कारावासको सजाय काटिरहेका छन्। न्यायालयले खमेर रुज सरकारका तीन नेताविरुद्ध उक्त मुद्दा चलाएको थियो। क्याम्बोडियाका पूर्वविदेशमन्त्री लेंग सारी तेस्रो अभियुक्त थिए, जसको सन् २०१३ मा ८७ वर्षको उमेरमा निधन भएको थियो।

न्यायाधीश नुनले शुक्रबार अदालतमा खमेर रुज कालका पीडितहरूका अगाडि आफ्नो विस्तृत फैसला पढेर सुनाएका थिए। अदालतले दुवै नेताहरूलाई मानवताविरुद्ध अपराध गरेको, प्रताडना, धार्मिक उत्पीडन, बलात्कार, जबरजस्ती विवाह गराउने तथा हत्या गराएकोमा दोषी पाइएको फैसलामा उल्लेख गरेको छ।

सबैभन्दा ठूलो नरसंहार

खमेर रुज एक कट्टर कम्युनिस्ट आन्दोलनकारी थियो। यसले सन् १९७५ देखि १९७९ सम्म क्याम्बोडियामा राज गरेको थियो। उक्त कम्युनिस्ट सरकारका प्रमुख सालोथ सार थिए। उनी पोल पोटको नामले पनि चिनिन्छन्। उनको शासनकालमा भएका हत्या २०औं शताब्दीको सबैभन्दा ठूलो नरसंहारमा गणना गरिन्छ।

माक्र्सवादी नेता पोल पोटले साम्यवादी विचारधारालाई आफ्नै तरिकाले परिभाषित गरेका थिए। यसले गर्दा क्याम्बोडियाको समाज सदाका लागि परिवर्तन भयो। माक्र्सवादी नेता पोल पोट क्याम्बोडियालाई ग्रामीण आदर्श लोक ‘युटोपियॉ बनाउन चाहन्थे। उनले शहरहरूलाई हटाएर नागरिकहरूलाई गाउँमा बसाउन थाले।

धन तथा निजी सम्पत्ति राख्न बन्द गरिदिए। उनको शासनमा धर्म र आस्थालाई अनुमति दिइएको थिएन। खमेर रुजको शुरूबाट सन् १९६० को दशकमा कम्पुचिया साम्यवादी पार्टीको सशस्त्र इकाईबाट शुरू भएको थियो। त्यतिबेला माक्र्सवादी क्याम्बोडियालाई कम्पुचियाको नामले सम्बोधन गरिन्थ्यो। सन् १९७० मा दक्षिणपन्थी सैन्य दस्ताले राजकुमार नरोदम सिंहानुकको सत्तालाई अपदस्थ गर्यो। खमेर रुजले त्यसको फाइदा उठाउँदै राजनीतिमा उत्रेर तिव्र गतिमा जनसमर्थन हासिल गर्न थाले।

करिब ५ वर्षसम्मको गृहयुद्धमा खमेर रुजले क्याम्बोडियाको अधिकांश भाग नियन्त्रणमा लिए। सन् १९७५ मा खमेर रुजले राजधानी नोमपेन्हमाथि कब्जा गर्दै क्याम्बोडियालाई आफ्नो अधीनमा लिए।

पोल पोट लामो समयसम्म पूर्वीजंगलमा पहाडी आदिवासीहरूसँग बिताएका थिए र उनीहरूको आत्मनिर्भर जीवनबाट प्रभावित थिए। आदिवासीहरूलाई पैसाको आवश्यक थिएन र उनीहरू बौद्धधर्मबाट पनि टाढै थिए। शासन सम्हालेलगत्तै पोल पोटले देशमा नयाँ शुरूआतका लागि ‘शुन्य वर्ष’ घोषित गरेका थिए। उनले आफ्ना नागरिकलाई विश्वबाट अलग पारे र शहर खाली गर्न शुरू गरे। आफूूलाई बुद्धिजीवी भन्नेहरूको हत्या गरे।

उनको शासन कालमा चश्मा लगाउने वा विदेशी भाषा जानेकाहरू प्रायलाई प्रताडित गरिएको थियो। मध्यवर्गका लाखौं पढेलेखेकाहरूलाई विशेष केन्द्रमा प्रताडित गरिएको थियो र मृत्युदण्ड दिइएको थियो।यसमा सबैभन्दा कुख्यात भनेको नोमपेन्हस्थित एस–२१ जेल थियो। जहाँ खमेर रुजको ४ वर्षे शासन कालमा १७ हजार महिला, पुरुष र बच्चालाई बन्दी बनाइएको थियो। भियतनामको सीमामा संघर्षको लामो समयपछि भियतनामी सेनाले अन्ततः सन् १९७९ मा खमेर रुजलाई सत्ताबाट च्युत गर्यो। तर खमेर रुजले त्यसपछि पनि २० वर्षसम्म जंगलमा बसेर लडाईं जारी राखे।

यस युद्धका क्रममा लाखौं नागरिक भोकमरी, रोग, बेरोजगारी र मृत्युदण्डको सजायका कारण मारिए। सन् १९९८ मा पोल पोटको मृत्यु भयो। यसबीच पोल पोटबाहेक अन्य कयौं प्रमुख खमेर रुज नेताको मृत्यु भइसकेको थियो। नरसंहारको आरोपमा मुद्दा चलाइएका तीन वरिष्ठ नेता सन् २००७ देखि हिरासतमा थिए।

प्रतिक्रिया दिनुहोस्