गणितका विम्बमा दार्शनिक प्रयोग



ज्ञानमणि नेपाल कालोटोपी
साहित्यकार विनयकुमार शर्मा नेपालको पछिल्लो कृति प्रेमाञ्जली मुक्तकसङ्ग्रह बजारमा आएको छ। यस सङ्ग्रहको लेखकीयमा मुक्तक विधाका सैद्धान्तिक आधारमाथि प्रश्न उठाइएको छ। यो उठाउनुपर्ने आवाजै भए पनि आजका नेपाली मुक्तकका पण्डित यस भनाइलाई हावामा उडाइरहेका छन्। नेपालका मुक्तकले कतै घमण्ड, डाह, ईष्र्या र कुण्ठालाई उडाउँछन्, कतै मान्छेको मनभित्र ईश्वर र राक्षस देख्छन् (पृ.२९), कतै जोगीका तनलाई भोगी देख्छन्, अन्धेश्वर, धन्देश्वर र गन्धेश्वरका कुरा गर्छन् (पृ. ३२), कतै लौकिकताको विरोध गर्छन् (पृ. ३४)।

मुक्तकको भाषा केही खरो, झर्रो, ठेट र मौलिक छ। खाएको थालमा हग्ने जस्ता केही अश्लील लाग्ने पदावली वा उखान टुक्कालाई पनि उनले आफ्ना सिर्जनामा सान्दर्भिक बनाएर समेटेका छन्। माखो मार्नु, काँसजस्तो जर्कने, बाँसजस्तो नुहुनु, लौकाको भाउमा बिक्नु, भकुन्डोसरि हान्नु, पेन्डुलम बन्नु, अन्तर्मन सिँगार्न नसक्नु (पृ.५९), बगरजस्तै सुस्ताउनु, लीला देखाउनु, खहरे उर्लनु, आफ्नो हैसियत हेर्नु (पृ.४५), राँको बल्नु (पृ.६१), मुटु दुख्नु (पृ.६२), राधाकृष्णको प्रेम (पृ.६६), दुईधारे तरबार (पृ.७१), घरपालुवा कुखुरो दालबराबर (पृ.११८) आदिको प्रयोग सहज देखिन्छ। यी मुक्तकमा काँस, बाँस, घाँस आदि विम्ब र अनुप्रास दुवै बनेर आएका छन्। छाला, ताला र माला (पृ.५३) पनि त्यसरी नै आएको देखिन्छ। यहाँ कतिपय मुक्तकले अनुप्रासलाई नै विम्ब बनाएका छन्। गणितका जोड–घटाउ नै नेपालका विम्ब बन्छन् र मुक्तककै विषय बन्छन्।
जस्तै–
जोड गर घटाउ मिल्दैन घटाउ गर जोड मिल्दैन

भाग गर गुना मिल्दैन गुना गरी हेर थोक मिल्दैन

काँडाहरूको बदला फूलैफूलको गुच्छा दिँदा पनि

तिमीसँग हिसाबको किन किन कतै फल–योग मिल्दैन।

यो मुक्तक विम्बात्मक छ। गणितका विम्बमा दार्शनिक छ। त्यस्तै सागर, आकाश, कोपिला, स्टेथोस्कोप, खरी, पाटी, मियो, किलो, जिलो, बल्ड्याड्ग्रो आदि विम्बहरूको सहज प्रयोग भएको छ। समग्रमा नेपालका मुक्तकले छोड्न नसकेको कुरो प्रेम, प्रकृति र समाज हो। समाजका विसंगत पक्षको उठान हो। खारिएको प्रस्तुतिले भने यो एउटा संग्रहणीय कृति भएकोमा भने शंका छैन। शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस मुक्तक संग्रहलाई २५० रूपैयाँमा किन्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्