अर्जुन साँझ हुँदै



गायक अर्जुन सुनाम सुमधुर साँझमा गुञ्जिने भएका छन्। उनी आगामी मंसिर ८ गते एकल प्रस्तुतिसहित प्रस्तुत हुने भएका छन्। सत्यावती कला केन्द्रको व्यवस्थापनमा अर्जुन सुनाम सुमधुर साँझ हुने भएको हो।

बन्धकी फिल्को सुर्खेतको बुलबुले ताल बोलको गीतबाट चर्चामा सुनामले कार्यक्रममा झन्डै डेढ दर्जन गीत सुनाउनेछन्। सरस्वती मिडिया फिल्म्स्को आयोजना तथा सत्यवती कला केन्द्रको व्यवस्थापनमा हुने कार्यक्रममा अर्जुनले सलल बगेको भेरी नदी, कहाँ पुग्यौ नेटो काटी, तिम्रै यादमा, राम कसम, तिम्रै झल्को आउँछ मेरी निरमायालगायतका गीत सुनाउनेछन्। कार्यक्रम संयोजक उदिराम खड्काले कार्यक्रमबाट संकलन हुने रकमको केही प्रतिशत रक्तक्यान्सर पीडित बिरामी पूर्णकुमार श्रेष्ठलाई प्रदान गरिने जानकारी गराए।

सांगीतिक करियरकै पहिलो एकल साँझमा गुञ्जिन लागेका अर्जुन कार्यक्रम प्रति उत्साहित छन्। ‘एकल साँझका लागि उमेर पनि बूढो हुनुपर्ने सोचाइलाई चुनौती दिँदै बूढो हुनुभन्दा अघि नै एकल साँझ गर्न लागेको हुँु’, १५ वर्षदेखि दोहोरी साँझमा गीत गाइरहेका गायक सुनामले पत्रकार सम्मेलनमा माझ भने– ‘सबै किसिमका गीत सिक्ने स्थान दोहोरी साँझ नै हो। एकल साँझमा चाहिँ आधुनिक र लोक शैलीका गीत सुनाउनेछु।’

एकल साँझमा अतिथि कलाकारहरू संगीता राना प्रधान, बीबी अनुरागी, रीमा गुरुङ होडा, शर्मिला गुरुङ, टीका पुन, जुनु रिजाल र चन्दा विश्वकर्मा रहनेछन् भने प्रेम अर्याल, सुनितामी परियार, प्रनिल तामाङ र पुष्पा बोहराले अर्जुनलाई गायनमा साथ दिनेछन्।

प्रतिक्रिया दिनुहोस्