सम्झनामा पद्मरत्न



This undated image shows senior leftist politician and human rights activist Padma Ratna Tuladhar. Photo: Padma Ratna Tuladhar’s Facebook

मोहन दुवाल
द्मरत्न दाइसँग मेरा थुप्रै खालका सम्झनाहरू छन्। वैचारिक दृष्टिमा, मानवीय संवेदना बोक्ने अभियानमा, भाषिक आन्दोलनमा र नेपालभाषा साहित्य लेखनकै सन्दर्भमा पनि नजिक–नजिक रहेर धेरै ठाउँमा, धेरै सन्दर्भमा गाँस्न पाइएका सम्बन्धहरू थुप्रै छन्। शिष्ट, सरल र भलाद्मीका रूपमा देखिँदै आएका जनमनले पत्याएका पद्मरत्नले के मात्र क्षेत्रमा काम गर्नुभएन ? नेपालभाषा मंकाः खलःका संस्थापक अभियन्ता यिनले नेपालभाषाको विस्तारमा, प्रगतिमा, सिर्जनशीलतामा उल्लेखनीय र ऐतिहासिक कार्यहरू गरेर आफूलाई चिनाउनुभएको छ। करिब १६ वटा निबन्ध प्रबन्ध, हास्यव्यङ्ग्य नाटक, उपन्यास र भाषासम्बन्धमा पुस्तक प्रकाशित गराएर आफूलाई सक्षम लेखकका रूपमा उहाँले आफ्नो कृतिमार्फत परिचित गराउनुभएको छ।

उहाँ एकजना सफल लेखक। नेपालभाषा साहित्यमा प्रसिद्धि कमाएका निबन्धकार। नेपालभाषा आन्दोलनका हस्ती। प्रखर वक्ता। स्वतन्त्र वामपन्थी विचारका नेता। मानवअधिकारका लागि सङ्घर्षरत योद्धा। पञ्चायतकालमा पनि ‘प्रजातन्त्र’को माग गरेर जेलमा परेका नेता। कम्युनिस्ट सिद्धान्तका हिमायती। तर कुनै पनि कम्युनिस्ट पार्टीमा संलग्न हुन नपाएका व्यक्ति। पद्मरत्न एकजना मानवअधिकारकर्मी, एकजना स्वतन्त्र वामपन्थी नेता। नेपालभाषाका सशक्त लेखक।

भाषा आन्दोलनका अग्रज। धेरै समयसम्म पत्रकारिता गरेका चर्चित पत्रकार। उहाँ अनुवादक पनि हुनुभयो। धेरै थोकमा चिनाउन सकिने एकजना स्वच्छ, सबल र सुन्दर मान्छे हुनुहुन्छ उहाँ। नेपाली राजनीतिक र सामाजिक आन्दोलनका नेता उहाँले एकताका प्रजातान्त्रिक सरकारका स्वास्थ्यमन्त्रीसम्म भएर देशको सेवा गरेको देखिन्छ। २०४६÷०४७ जनान्दोलनमा र २०६२÷०६३ को शान्ति प्रक्रियामा सहजकर्ता भई भूमिका निभाउनुभएका उहाँ कुनै पनि विषयमा आफ्नो अडानमा दृढ रहन जानेका चर्चित व्यक्तित्व हुनुहुन्छ।

‘परतु’ अर्थात् पद्मरत्न तुलाधरको जन्म वि.सं. १९९७ फागुन ७ गते न्हैंकन्तला, काठमाडौंमा भएको हो। उहाँका पिता ज्ञानरत्न तुलाधर र माता दिव्यलक्ष्मी तुलाधर हुनुहुन्छ। अंगे्रेजी विषय लिएर स्नातक उत्तीर्ण गर्नुभएका उहाँले नेपालभाषा साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन गरेको देखिन्छ। ‘बुलुमी’ उहाँको चर्चित निबन्धसङ्ग्रहका रूपमा प्रख्यात कृति हो। जीवनलाई सङ्घर्षका रूपमा परिभाषित गराउन रुचाउने, यथार्थलाई सहर्ष स्वीकार गर्ने उहाँको जीवन सधैँ सबै बेला समाज र देशकै निम्ति सङ्घर्ष गर्दागर्दै बिताइएको देखिन्छ। ‘मानिसको आफ्नो समाजबाट हासिल अनुभवका आधारमा आलेखन गरिएका अनेक रङ्ग रूपमा सृष्टिहरू’ नै उहाँका दृष्टिमा साहित्य हो।

संसारका धेरैजसो देशहरू भारत, बंगलादेश, थाइल्यान्ड, फिलिपिन्स, हङकङ, चीन, मलेसिया, जापान, सिंगापुर, अमेरिका, रुस, बेलारुस, जर्मनी, स्वीजरल्यान्ड, डेनमार्क, नर्वे, होल्यान्ड, बेल्जियम आदि घुम्नुभएका उहाँले शिष्टताका दूतजस्तै भएर नेपाल र नेपालीको सेवा गरेर गएको देखिन्छ। छोरा दुई, छोरी दुईका बुबा भई व्यवहार चलाउँदै बाँच्नुभएका उहाँ नीलशोभा तुलाधरका जीवनसाथी हुनुहुन्छ। खराब र बेथितिका विरुद्ध लड्दै आउनुभएका पद्मरत्न तुलाधर ७८ वर्र्षको उमेरमा यही कार्तिक १८ गते आइतबार हामी सबैलाई छाडेर अस्ताउनुभयो।

नागरिक अगुवा, प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने संघर्ष र राजनीतिक, भाषिक, सांस्कृतिक आन्दोलनका समर्पित योद्धा पद्मरत्न तुलाधरका यात्राहरू त्यागमय र निःस्वार्थ भावका देखिन्छन्।
थुप्रै खालका यात्राहरूमा अर्थात् अनेकौं खालका भाषिक आन्दोलनमा, राजनीतिक घटनाक्रमहरूमा, प्रगतिशील साहित्यिक अभियानमा, राजनीतिक सम्मान गर्ने परम्परामा उहाँसँग नजिक रहेर यात्रा गरेका मेरा थुप्रै प्रसङ्गहरूमध्ये प्रगतिशील लेखक कलाकार संघ केन्द्रीय तदर्थ समितिमा रहेर काम गर्दाका क्षणहरू अविष्मरणीय छन्। २०३६–३७ सालको कुरो हो।

हामी प्रगतिशील लेखकहरू पनि दुई कित्तामा विभाजित थियौं। ‘वेदना’ परिवारको नेतृत्व पारिजात दिदीले गर्नुहुन्थ्यो। उक्त कित्तामा रायन र म सामेल थियौं। ‘संकल्प’ परिवारमा रघु पन्त, मञ्जुल र रामेशहरू थिए। पद्मरत्न तुलाधर, दुर्गालाल श्रेष्ठ, मल्ल के सुन्दर, जागृतप्रसाद भेटवालहरू तटस्थजस्तै भूमिका खेल्नुहुन्थ्यो। त्यसताका देखिएका हाम्रो दुई परिवारको सम्बन्धमा पद्म दाई भन्नुहुन्थ्यो– ‘तपाईंहरूको द्वन्द्वले हामी नकिचियौं।’ शालीन ढङ्गले गुटबन्दीको विरोध गर्नुहुन्थ्यो उहाँ।

उक्त संगठनको कुनै पनि बैठकमा उहाँले कहिल्यै ठूलो स्वर नगरीकन आफ्नो तर्क र विचार प्रस्तुत गर्नुहुन्थ्यो। हामी त्यसताका ‘वेदना’ र ‘सङ्कल्प’कै बाझाबाझमा रमायौं। पद्म दाइले कहिल्यै पनि गुटको पछि लागेर आफ्नो विचार प्रस्तुत गर्नुभएन। अहिले सम्झिँदा पो झल्याँस्स भएँ, हामी त त्यसै–त्यसै गुट र फुटमा रमाएका रहेछौं। पद्म दाइको उदार दृष्टि मात्र होइन, यो दृष्टि महान् दृष्टि पो रहेछ। अहिले सम्झिएर ल्याउँदा पो थाहा भयो।

नेपालका कम्युनिस्ट आन्दोलनका महान् नेताहरू निर्मल लामा मलाई अत्यन्त मनपर्ने नेता हुनुहुन्छ। २०५७ सालमा नै हो उहाँ सिकिस्त बिरामी पर्नुभयो। निर्मल लामालाई एकदिन उहाँ रहनुहुँदै म्हैपीस्थित घरमा सिकिस्त बिरामी हुँदा मैले भेट्न पाएको थिएँ। लामाजीको सम्मान गर्ने इच्छा त्यस बेला मैले जाहेर गर्दा लामाजीले स्वीकृति दिनुभएको कारणले लामाजीको जनअभिनन्दन गर्ने अभियानमा दिलसुन्दर श्रेष्ठ, सुवास श्रेष्ठ, कमानसिंह लामालगायत हामी लाग्यौं। अभिनन्दन समारोह समिति बनाउने दौरानमा साथीहरूको माझ मैले पद्मरत्न तुलाधरलाई अध्यक्ष बनाउने राय प्रस्तुत गरेँ। साथीहरूको सहमतिपश्चात् मैले पद्म दाइलाई यो खुशीका खबर सुनाएँ। उहाँले सहर्ष उक्त कुराको समर्थन गर्दै भन्नुभएको थियो– ‘एकजना इमानदार कम्युनिसट नेताको जनअभिनन्दन गर्ने कार्यक्रमको अध्यक्ष हुन पाउनु यो मेरो लागि महान् अवसर हो। म यस कार्यमा इमानदारिपूर्वक लाग्छु।’

हामी ज्यादै खुशी भयौं। नेपालकै इतिहासमा अझ वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनकै इतिहासमा यो अभिनन्दन कार्यक्रम नेपालकै लागि प्रथम घटना हो। राष्ट्रिय सभागृहको ठूलो सभाकक्षमा अटाई नअटाई भीड रहेको उक्त सभाको सभापतित्व ग्रहण गर्नुहुने पद्मरत्न तुलाधरले भन्नुभएको थियो– ‘निर्मल लामाजीको यो जनअभिन्दन नेपालकै इतिहासमा गौरवपूर्ण घटना हो। लामाजी कम्युनिस्ट आन्दोलनका एकजना इमानदार र कर्मठ नेता हो। यी दुईवटा घटना प्रसङ्गहरूमा मैले नजिकले चिन्न पाएको, नजिकले देख्न पाएको पद्मरत्न तुलाधर मेरो मन मझेरीमा सधैँ झुलिरहन सक्ने इमानदार व्यक्तित्व हुनुहुन्छ। म सम्झना गरिरहन्छु। पद्म दाइलाई श्रद्धाञ्जलि भनिरहेछु।

प्रतिक्रिया दिनुहोस्