गोश्वारा हुलाक कार्यालय बबरमहल सार्ने तयारी



कार्यालय भन्छ ः एक हप्तामा निर्णय, महिना दिनभित्र सारिसक्ने

ईश्वरराज ढकाल, काठमाडौं
स्थानान्तरणको अन्तिम तयारीमा रहेको गोश्वारा हुलाक कार्यालयलाई सरकारले जग्गा उपलब्ध गराउन नसक्दा धरहरा पुनर्निर्माणमा समस्या उत्पन्न भएको छ।

दुई वर्षअघि मन्त्रिपरिषद्को बैठकले गोश्वारा हुलाक र टक्सार विभागको जग्गा अधिग्रहण गरी धरहरा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो। तर निर्णय गरेको दुई वर्ष बितिसक्दा पनि दुवै कार्यालय अहिलेसम्म स्थानान्तरण हुन सकेका छैनन्। करिब दुई साताअघिबाट धरहरा पुनर्निर्माण शुरू भएको छ। ती दुई कार्यालय भने बिचल्लीमा परेका छन्। कार्यालयमा आउने कर्मचारीलाई हाजिर गर्नसमेत समस्या हुन थालेको छ। ११ रोपनी क्षेत्रफल ओगटेको गोश्वारा हुलाक कार्यालयका सामग्री कहाँ व्यवस्थापन गर्ने भन्ने विषय अहिले प्रमुख मुद्दाका रूपमा देखापरेको छ।

‘सरकारले धरहरा निर्माणका लागि जग्गा दिने निर्णय त गर्यो तर हाम्रो कार्यालयलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा समस्या परेको छ।’ –गोश्वारा हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले भन्नुभयो।

तीन दिनअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बसेको बैठकले तत्काल कार्यालय सार्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम अबको एक महिनाभित्र कार्यालय स्थानान्तरण भइसक्नुपर्ने भएको छ। सरकारले २०७३ भदौ १५ गते धरहरा पुनर्निर्माण एकीकृत गुरुयोजनामार्फत चारखालस्थित भद्रगोल जेल परिसरको जग्गा दिने निर्णय गरेको थियो।

तर केही समयपछि जेल भएको स्थानमा हुलाक कार्यालय स्थानान्तरण गर्न सक्ने अवस्था नभएको सरकारले नै बताउँदै आएको थियो। ६ सय कैदी र १ सय २५ प्रहरी बस्दै आएका जेल परिसरमा कसरी गोश्वारा हुलाक कार्यालय सार्न सकिन्छ भन्ने आवाज उठ्न थालेपछि सो निर्णयबाट सरकार पछि हटेको थियो। १५ रोपनी क्षेत्रफल रहेको सो क्षेत्रमा हुलाक कार्यालय स्थानान्तरण गर्ने सरकारी निर्णय असफल भएपछि वैकल्पिक स्थान खोज्न थालिएको थियो।

अन्तिम अवस्थामा बबरमहलस्थित वाणिज्य विभाग परिसरमा रहेको जग्गामा प्रिफेबको टहरा बनाएर सो कार्यालय सार्ने तयारी गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तत्काल कार्यालय खाली गर्न पटकपटक ताकेता गरेपछि गोश्वारा हुलाक कार्यालय सर्न बाध्य भएको हो।

कार्यालय प्रमुख भण्डारीले अबको एक महिनाभित्र कार्यालय स्थानान्तरण गरिसक्ने बताउनुभयो। सरकारले शुरू गरेको धरहरा पुनर्निर्माण योजनालाई सफल बनाउन कार्यालय सार्नै पर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।

विसं २०७० सालबाट निर्माण भइरहेको चारखालको हुलाक सेवा विभागको भवन प्राविधिक कारण निर्माण सम्पन्न नभएकाले तत्काल गोश्वारा हुलाक कार्यालयलाई स्थानान्तरण गर्न नसकिएको भण्डारीले बताउनुभयो।

उहाँका अनुसार अब सरकारको निर्णयअनुसार बबरमहलको खाली जग्गामा अस्थायी कार्यालय स्थापना गर्ने अन्तिम तयारी भइरहेको छ।

४ वटा भवनमा रहेको सो कार्यालय प्रिफेबको बन्ने भएपछि कर्मचारी दिक्क भएका छन्। १ सय ५० अतिरिक्त हुलाक कार्यालय, १९ हजार ७ सय २५ पोस्ट बक्स, करिब ५ सय कर्मचारी, केन्द्रीय टिकट भण्डार रहेको सो भवनमा अति महत्वपूर्ण १ सय ४५ वटा सेफ रहेका छन्। कार्यालयको ५० थान मोटरसाइकल र १३ सवारी साधन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्