नेविसंघ आजबाट स्वतः भ·निकास निकाल्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



नेपाल समाचारपत्र
काठमाडौं
तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज शनिबारबाट स्वतः भ· हुने भएको छ।

१२औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन आज शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ। आज बस्ने बैठकमा तदर्थ समिति बनाएर अधिवेशन गर्र्ने विषयमा छलफल गरिने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बस्ने बैठकको मुख्य एजेन्डा नै नेविसंघको अविधेशन रहेको जानकारी दिनुभयो।

कांग्रेस केन्द्रीय समितिले बहुमतको आधारमा नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने विधान पारित गरेसँगै अधिवेशन अन्योल बन्दै गएको थियो। नेविसंघमा ३२ वर्ष उमेर हद तोकेपछि नेविसंघभित्र मात्र होइन कांग्रेसका शीर्ष नेतृत्व तहमा समेत विवाद उत्पन्न भएको थियो। वर्तमान नेविसंघ केन्द्रीय समितिले सर्वसम्मतरूपमा विधान पारित गरी कांग्रेस केन्द्रीय समितिमा पठाए पनि नेविसंघ हेर्ने सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको पार्टीको निर्देशन समितिले नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान खारेज गरी ३२ वर्ष उमेर हद लाग्नेसहितको आफ्नो विधान पेस गरेपछि विवादले उग्ररूप लिएको थियो।

केन्द्रीय समिति बैठकले नेविसंघमा उमेर हद लगाउने विधान पारित गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेका थिए। नेविसंघको महाधिवेशनमा आफ्नो पक्ष पराजित हुने निश्चित भएपछि संस्थापन पक्षले यस्तो निर्णय गरेको आरोप नेताहरूले लगाएका थिए। पछिल्लो समय पार्टीको भ्रातृ संगठनमा आफ्नो पकड गुमाउँदै गएपछि नेविसंघमा उमेर हद लगाइएको संस्थापनइतर पक्षले आरोप लगाएको छ।

नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवाद देखाउँदै वर्तमान अध्यक्ष नैनसिंह महरले महाधिवेशनको प्रारम्भ नै नगरेपछि पार्टीले महाधिवेशनका लागि भन्दै थप ३ महिना म्याद थप गरेको थियो। सो म्याद आज शनिबार सकिने भएपछि कांग्रेस केन्द्रीय समितिले तदर्थ समिति गठन गर्ने तयारी गरेको स्रोतले दाबी गरेको छ। उमेर हद लागेसँगै नेविसंघका कैयन नेताहरूले आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्