दुई अध्यक्षको खिचातानीले एकता प्रक्रिया प्रभावित



मधुसूदन रायमाझी, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ। पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ।
पटक–पटक भाका सारिँदै आएको एकता प्रक्रिया झन् लम्बिँदै गएको छ। एकता प्रक्रियाका लागि कार्यदलले तयारी गरेर खाकासहितको प्रतिवेदन सचिवालयको बैठकमा पेस गरे पनि शीर्ष नेताबीचकै विवादका कारण स्थगित भएको थियो।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरूले नै लगाउन थालेका छन्। पार्टीको सांगठनिक एकताको विषय स्थायी समिति बैठकमा छलफल गराउनुपर्ने माग उठे पनि अध्यक्षद्वयले स्थायी समितिको बैठक नै लम्ब्याउँदै आएका छन्। पार्टीको स्थायी समितिको बैठक तीन महिनायता बस्न सकेको छैन। सचिवालयको बैठक पटक–पटक बसे पनि ठोेस निर्णय लिन सकेको छैन।
◆ ओली र प्रचण्डको आ–आफ्नै ताल, कार्यकर्ताको बेहाल 
◆ पार्टी एकताएपछि बस्न सकेन केन्द्रीय समितिको बैठक 
◆ ओलीले दुवै पदको नेतृत्व गर्दा अल्झियो एकता
पार्टीको सांगठनिक एकताको प्रक्रियामा जुट्नुपर्ने सचिवालयका नेताहरू नै गुट निर्माण गर्दै आपूm कसरी बलियो बन्ने भन्ने गृहकार्यमा छन्। पार्टी एकताको गृहकार्य गर्नुपर्ने अध्यक्षद्वय ओली र प्रचण्ड पनि आ–आफ्नै शैलीमा चल्न थालेका छन्। प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीले सरकार सञ्चालनको व्यस्तता हुँदा पार्टीको काममा पर्याप्त समय दिन भ्याउनुभएको छैन।
अध्यक्ष ओलीले आफ्नो समय व्यस्त हुँदा पनि सांगठनिक एकताको जिम्मेवारी अर्को अध्यक्ष प्रचण्डलाई दिने आँट गर्न सक्नुभएको छैन। पार्टी एकीकरणपछि केन्द्रीय सदस्य र प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक पार्टीका अन्य कुनै पनि जिल्ला कमिटी, जनवर्गीय संगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। केही जिल्लामा भने शीर्ष नेतृत्वको आशा गर्नुभन्दा स्वःस्फुर्तरूपमा स्थानीय र वडा कमिटीको एकीकरण भएको छ।
दुई साताअघि प्रदेशको कमिटी, केन्द्रीय सदस्यको कार्यविभाजको जिम्मेवारीसहित गठित दुई सदस्यीय कार्यदलले पनि सचिवालय बैठकमा प्रतिवेदन पेस गर्न सकेको छैन। यसअघि बसेको सचिवालयको बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सहभागी भएको दुई सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसयता प्रधानमन्त्री ओलीको अस्वस्थता र अर्का अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको उपचारमा म्याग्दी जानुभएपछि अध्यक्षद्वयबीच नै संवाद हुन सकेको छैन।
यतिसम्म कि सात महिनाअघि केन्द्रीय सदस्य बनेकाहरूले समेत जिम्मेवारी पाउन सकेका छैनन्। सचिवालयका एक सदस्यले भने– ‘शीर्ष नेताहरूले पार्टी एकता त गर्नुभयो, समयमा नै सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न नसक्दा नेता र कार्यकर्तामा निकै ठूलो निराशा छाएको छ।’ जिम्मेवारीविहीन भएर बस्दा लाखौं कार्यकर्ता अन्योलमा परेको बताउँदै ती नेताले थपे– ‘दुईवटा पदको नेतृत्व गर्नुभएका अध्यक्षले दुवै पदमा आफ्नो प्रभाव राख्न खोज्दा पनि एकतामा समस्या सृजना भयो।’

प्रतिक्रिया दिनुहोस्