दुधमा आत्मनिर्भर बन्यो बागलुङ



सिर्जना पन्त, बागलुङ ।

बागलुङ जिल्ला दुधमा आत्मनिर्भर भएको छ । बागलुङ जिल्लामा खपत हुने दुध भन्दा उत्पादन हुने दुध धेरै भएपछि दुधमा आत्मनिर्भर भएको हो ।

बागलुङ जिल्लामा व्यवसायीक रुपमा दुध उत्पादन गर्ने किसानहरु वृद्धि हुनु, पशुहरुलाई कृतिम गर्भाधारण गराउनेहरुको संख्यामा वृद्धि भएको कारण दुध उत्पादनमा वृद्धि भएको बताईएको छ । बागलुङ जिल्लामा दैनिक ६६ हजार ८ सय १६ लिटर दुध आवश्यक पर्ने भएपनि ६८ हजार २ सय ८४ लिटर उत्पादन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

गाईवस्तुको उचित स्याहार सुसार, आहारामा सुधार र दुध उत्पादनमा युवा कृषकहरु आर्कषण हुनाले दुध उत्पादनमा वृद्धि भएको छ, वरिष्ठ पशु विकास अधिकृत डा.नारायणप्रसाद शर्माले भन्नुभयो ‘दुधको खपत भन्दा उत्पादन धेरै छ । अन्य पर्वत म्याग्दी र गुल्मी जिल्लासंग सिमाना जोडिएका ग्रामिण भेगमा उत्पादन भएको दुध सोही जिल्लाहरमा समेत खपत भएको छ ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु प्राविधिक केशव शर्माका अनुसार एक वर्षमा एक व्यक्तिलाई ९१ लिटर दुध आवश्यक हुने भएपनि बागलुङमा एक व्यक्तिलाई ९३ लिटर दुध पुग्ने गरि उत्पादन हुँदंै आएको छ । यही अनुपातमा निरन्तर दुध उत्पादनमा वृद्धि हुँदैं गए केहि समयमै बागलुङ जिल्लाले दुधको निर्यात गर्न सक्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान वृद्धि हुनु, व्यक्तिगत रुपमा गाई बस्तु पाल्ने र दुध उत्पादन गर्ने किसानहरु बढ्दैं जानु र सहकारी संस्थाहरुले समेत दुध उत्पादनमा जोड दिनु बागलुङ जिल्लाको लागि दुधमा आत्मनिर्भर हुने दरिलो आधार बनेको उपभोत्ताहरुको भनाई छ ।

बागलुङ बजारमा आवश्यक पर्ने ५० प्रतिशत दुध जिल्लाका सहकारीहरुले उत्पादन गर्दै आएका छन् । दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्त कंडेलका अनुसार सदरमुकाममा आवश्यक रहेको दुधको आधी माग दुग्ध सहकारीले पुरा गर्ने गरेका छन् ।

सहकारी मार्फत दुध उत्पादन तथा वितरण गर्दा कृषकहरुलाई आर्थिकरुपमा धेरैं फाइदा हुने भन्दै कृषकहरु सहकारीका माध्यमबाट दुध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कंडेलको भनाई रहेको छ । हाल बागलुङ बजारमा मात्र दैनिक ६ हजार लिटर दुध आवश्यक पर्दछ जस्मध्ये २ हजार ५०० लिटर दुध जिल्ला सहकारी संघमा आवद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन् ।
दुध उत्पादनबाट व्यवसायीहरुले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवाहरुपनि गाई, भैसीं र्फम स्थापना गर्न थालेका हुन् । तथ्याङ्कका हिसावले दुधमा आत्मनिर्भर भएपनि संघियताको कार्यान्वयनको कारण बागलुङ जिल्ला दुधमा आत्मनिर्भर घोषणा हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्