२६ बुदें माग राख्दै सिन्धुलीका शिक्षक आन्दोलित



बुद्ध नेपाली, सिन्धुली ।
नेपाल शिक्षक महासंघको घोषित कार्यक्रम अनुसार सिन्धुलीका विभिन्न पेसागत संघसंगठनमा आबद्ध शिक्षकहरु आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघद्धारा घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रवार शिक्षा विकास तथा समन्वय ईकाई,सिन्धुलीमा बिहान १० बजेबाट जिल्लाका शिक्षकहरुले सुरु गरेको धर्ना दिउँसो २ बसे सकिएको थियो ।

एक महिना लामो चाडपर्व बिदा पछि विद्यालय खुलेसँगै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । दसैं अगाडिदेखि बिदा भएका विद्यालय बिहीबारबाट खुलेका छन् ।

विभिन्न २६ बुदें माग राख्दै नेपाल शिक्षक महासंघले घोषणा गरेको तेस्रो चरणको धर्ना तथा विरोध कार्यक्रममा नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको सहभागिता रहको थियो ।

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौताको कार्यन्वयन नभएको भन्दै शिक्षकहरु आन्दोलीत भएकोे नेपाल शिक्षक महासंघ सिन्धुलीका सचिव विष्णु प्रसाद फुयालले बताए ।

यस अघि भएका दुई चरणका आन्दोलनमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको लिखित सहमतीहरु कार्यन्वयन नभएकाले फेरी आन्दोलन गर्नुपरेको सचिव फुयालले जनाए ।

नेपाल शिक्षक महासंघले आन्दोलनका चरणबद्ध एक महिनाको कार्यक्रम नै सार्वजनिक गरेर आन्दोलन सुरु गरेको सचिव फुयालको भनाई छ । ‘गत असोज २१ गते देखि आन्दोलन सुरु भएको हो, हाम्रा माग पुरा नभएसम्म आगामी मंसिर २१ गते सम्म आन्दोलन जारी रहने छ’उनले भने ।

विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा व्यवस्था भए अनुसार आन्तरिक परीक्षाको मिति तोकी अविलम्व परिक्षा लिनुपर्ने, संघिय तथा प्रादेशिक शिक्षा ऐन बनेपछि बन्नुपर्ने ऐन संघिय तथा प्रादेशिक ऐन भन्दा अगाडी बनेकाले स्थानिय तहबाट आफु खुसी कार्यविधि,नियमावली, तथा ऐन बनाई कार्यान्वयन गर्ने काम रोक्न स्थानिय तहलाई निर्देशन दिनुपर्ने लगाएतका माग महासंघले राखेको छ ।

शिक्षकहरु आन्दोलनमा लागेसँगै विद्यालयको पठनपाठनमा समस्या आएको जिल्लाका सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्