जुनारमा किराको प्रकोप बढेपछि सिन्धुलीका किसान चिन्तित



बुद्ध नेपाली, सिन्धुली ।
गोलन्जोर गाउँपालिका ४ तिनकन्याका पोक्चे आले मगर जुनार किसान हुन्। उनको वर्षौं देखिको आम्दानीको मुख्य स्रोत त्यही जुनार हो। उनको बगैंचामा अहिले डेढ सयभन्दा बढी जुनारका बोट छन्। उनले जुनार बिक्री गरेरै वार्षिक २ देखि ४ लाखसम्म आम्दानी लिन्थे।

तर केही वर्षदेखि जुनार बगैँचामा किराको प्रकोप बढेपछि उनको आम्दानी सबै गुम्न पुग्यो। किराको प्रकोपका कारण गत वर्ष त उनले जुनारबाट एक पैसा पनि आम्दानी लिन पाएनन्। ‘पोहोर साल त एउटा दाना पनि बेच्न पाइएन। पूरै बगैंचा नै किराले खतम र्पायो’ उनले भने।

विगत चार पाँच वर्षदेखि सिन्धुलीको पहिचानसँग जोडिएको जुनारमा किराको प्रकोप बढेको छ। जुनार खान योग्य नहुँदै किराले सखाप पारेपछि सिन्धुलीको जुनार सुपर जोन क्षेत्रका जुनार किसान चिन्तित बनेका हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपर जोन) सिन्धुलीका अनुसार गत वर्ष करिव ४० देखि ५० प्रतिशत जुनारमा ब्याक्ट्रोसेरा मिन्याक्सको प्रकोप थियो। यस वर्ष गत वर्षको तुलनामा बढी नै किराको प्रकोप देखिएको किसानहरूको गुनासो छ। सिन्धुलीमा १२ सय देखि १३ सय हेक्टर क्षेत्रफलमा जुनार खेती हुँदै आएको छ।

यस वर्ष पनि पहिलाका वर्ष जस्तै जुनारमा फल कुहाउने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले जुनारको फल कुहाउन सुरु गरेको गोलन्जोर गाउँपालिका ४ तिनकन्याकै जुनार किसान ओम कुमारी मगरले बताइन्। उनको पनि करिब ५ देखि ६ सय जुनारबोट छन्। तर जुनार बगैँचामा किराले सखाप पारेपछि चिन्तित छिन् उनी।

‘३र४ वर्ष भयो जुनारमा किरा लागेको। किरा लागेपछि किन्नका लागि कोही पनि आउँदैनन्, आफैँ खान पनि किराले केही बाँकी राख्दैन पाक्न थालेपछि सबै जुनार भुइँमा झर्छन्, यो किराले हाम्रो आम्दानी सखाप र्पायो’ उनले भनिन्। जुनार फलमा यस वर्ष पनि गत वर्षको जस्तै किरा प्रकोप लागेको जुनार सुपरजोन सिन्धुलीका कृषि अधिकृत तथा सूचना अधिकारी रवि किरण अधिकारीले बताए।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपर जोनले जुनारमा लागेको किराको प्रकोप न्यूनीकरण गर्न साबिक तिनकन्या गाविसको ८ सय रोपनी क्षेत्रको जुनार बगैंचामा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागू गरी किरा नियन्त्रण अभियान संचालन गरेको थियो। क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागू भएको क्षेत्रका जुनारमा यस वर्ष किरा प्रकोप कम भएको किसान बताउँछन्। तर क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागू भएको क्षेत्रबाहेक अन्य क्षेत्रको ८० प्रतिशत जुनारमा किराको समस्या देखिएको छ।

०७२ मा केही दानामा मात्रै देखिएको समस्या समयमै समाधान गर्न नसक्दा हाल विकराल अवस्था आएको जुनार किसानहरू बताउँछन्। विगतकै वर्षबाट किरा नियन्त्रण गर्न लाखौँ रुपैयाँ खर्च गर्दै आएको भए पनि प्रभावकारी नदेखिएको स्थानीय बताउँछन्।

जुनार सुपरजोन कार्यालय प्रमुख अधिकारी किराको व्यवस्थापनमा जुनारका व्यापारी र किसानलेनै ध्यान नदिएसम्म सुपरजोनले खर्च गरेर मात्रै व्यवस्थापन नहुने रतनचुराका किसान हरिशरण बस्नेतको धारणा छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनका प्राविधिकहरुले किरा देखिएको जुनारलाई ६० सेमी गहिरो खाल्डो खनेर पुर्न आग्रह गरेको किसान तथा व्यापारीको भनाइ छ। हालै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोनमा सरुवा भई आएका कार्यालय प्रमुख देवराज अधिकारी किरा नियन्त्रण गर्न जटिल रहेको बताउँछन्।

उनले सिन्धुलीको जुनार बगैँचामा देखिएको किरा रामेछाप, दोलखा काभ्रेमा फैलिँदै गएको बताए। जुनारको दाना लाग्ने समयमै किराले आक्रमण गर्ने र जुनारको दानाभित्र किरा पर्ने भएकाले बाहिर राम्रो देखिए पनि भित्र किरा लागेको दाना हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्