निर्मलालगायतका पीडितलाई न्याय देऊ



बलात्कारपश्चात् हत्या गरिएकी छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै १३ वर्षीया किशोरी निर्मला पन्तका आमाबाबुले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा अनिश्चितकालीन धर्ना दिइरहेका छन् । राज्यले न्याय नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको पीडा व्यक्त गर्दै पन्तका आमाबुबाले धर्ना कार्यक्रमको सुनुवाइ नभए अनशन बस्ने चेतावनी दिएका छन् । सरकारलाई लाग्दो हो– न्याय माग्नु पनि सरकारलाई कमजोर बनाउने षड्यन्त्र हो ।

उक्त हत्याकाण्ड एक दृष्टान्त मात्रै हो । दिनहुँ हत्या र बलात्कारजस्ता जघन्य अपराध बढिरहेका छन् । आमजनताले शान्ति सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । सभ्य समाजलाई नै कलंकित पार्ने गरी बलात्कारका जघन्य घटना बढिरहँदा सरकार कहिले कर्मचारी त कहिले प्रशासन संयन्त्रले काम नगरेको बहानामा पानीमाथिको ओभानो बन्ने दुस्प्रयास गरिरहेको छ ।

पछिल्लो समय अखबारका पानाहरुमा दिनहुँजसो बालिका बलात्कारका घटनाले मानवीय संवेदना हराउँदै गइरहेको प्रतीत भइरहेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाकी शारीरिकरुपमा अशक्त २७ वर्षीया एक महिला बलात्कारको सिकार भइन् । यस्तै, जन्मदिनको अवसरमा भोज आयोजना गरेको बहानामा लहान नगरपालिका–२२ र लक्ष्मीपुर पत्तारी गाउँपालिकाकी दुई युवतीमाथि सातजना युवाले सामूहिक बलात्कार गरे । यसै गरी, देउसीभैलो खेल्ने क्रममा भरतपुर–२२ मा एक बालिका बलात्कृत भइन् ।

यस्तै, झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै बर्दियामा ४१ वर्षीया महिला पटक–पटक बलात्कृत भइन् । यस्तै, बाख्रा चराउन गएकी बर्दियाको बढैयाताल गाउँपालिकाकी ११ वर्षीया बालिकाको सामूहिक बलात्कार भयो ।
यी दृष्टान्तहरु कुनै हिन्दी सिनेमाका काल्पनिक दृश्य होइनन् ।

नेपाली समाजमा हुने गरेका अपराधका शृङ्खला हुन् । समाज जतिसुकै सचेत र शिक्षित हुँदै गए पनि बलात्कार र हिंसात्मक घटना नियन्त्रणमा चुनौती थपिँदै गएको प्रमाण हो यो । नेपालमा दिनहुँ औसत तीनजना बालिका बलात्कृत हुने गरेका छन् । कतिपय घटना प्रहरीसम्म पुग्नुअगावै मिलापत्र गर्ने प्रवृत्ति अद्यापि छ । विभिन्न त्रास र प्रलोभन देखाएर घटना सामसुम पार्ने, समाजमा कलंकित भइने डरले पीडित पक्षबाट उजुरी नदिन दबाब दिने विषय पनि नौलो होइन ।
बलात्कार एउटा डरलाग्दो अपराध हो ।

बलात्कारजस्ता सामाजिक असुरक्षा निम्त्याउने हिंसात्मक घटना नियन्त्रणका लागि विभिन्न अधिकारकर्मी, महिला नेतृ, प्रहरी तथा सामाजिक अगुवाहरुले अभियान चलाउँदै आए पनि प्रभावकारी हुन सकेका छैनन् । निर्मला पन्त हत्या प्रकरणले राज्य संयन्त्र कतिसम्म निरीह र गैरजिम्मेवार छ, सहजै अनुमान गर्न सकिन्छ । एउटा अपराधी उम्कनु भनेको सयौँ अपराधी जन्मनु हो । अहिले त्यस्तै भइरहेको छ । अपराधीलाई कानुनी कठघरामा उभ्याएर पीडितलाई न्याय दिनु नै कानुनी राज्य हो । दिनहुँ अपराधले प्रश्रय पाउँदै जानु सरकार पनि स्वतः असफल हुनु हो ।

जबसम्म देशमा आपराधिक घटनाले प्रश्रय पाउँछ र अपराधीलाई उन्मुक्ति दिइन्छ, तबसम्म सभ्य समाजको परिकल्पना गर्न सकिँदैन । पछिल्ला दिनमा महिला हिंसा र अधिकारबारे चेतनाको विकास बढ्दै गएको छ । तर, सामाजिक अपराधबारे सर्वसाधारणमा सचेतना बढ्दै गए पनि आपराधिक घटना न्यूनीकरण हुन सकिरहेको छैन । दिनदहाडै विभिन्न बहानामा बालिकादेखि वृद्धासम्म बलात्कृत हुनु राज्यविहीनताको स्थिति हो । त्यसैले सरकार ! जनताको शान्ति सुरक्षाका लागि अब त केही गर । अब त यो भयाभव स्थिति भइसक्यो ।
– सुरज कार्की, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्