अमेरिकामा यौन मुद्धा जितेर फर्केका तेक्वान्दो प्रशिक्षक



फिरोज राजोपाध्याय
आजभोलि यौन दुव्र्यवहारको घटना बढ्दै गएको छ । कतिपय घटनाहरुलाई हेर्दा यसमा निर्दोष व्यक्तिमाथि पनि आरोप लागेको देखिन्छ । कतिपय घटनामा दोषीहरु पनि पाएका छन् । पछिल्ला केही घटनाहरुलाई हेर्दा खेलकुद क्षेत्रमा पनि यस्तो घटनाहरु देखिन थालेका छन् ।

 

अमेरिकी जिम्नास्ट क्वीन सिमोन बाइल्सले समेत आफुमाथि यौन दुव्र्यवहार गरेको भनेर केही महिना अगाडि मात्रै सार्वजनिक गरेकी थिइन् । यस्तै नाम चलेका फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि त बलात्कारकै आरोप लागेको छ । अदालतमा विचाराधीन यो घटना कति साँचो र कति झूठो हो त्यसको छिनोफानो हुन बाँकी नै छ । यी दुबै आरोप अमेरिकाबाटै भएका हुन् । यस्तैमा अमेरिकामै अर्को एउटा आरोप आएको थियो त्यो पनि नेपाली तेक्वान्दो खेलाडि र प्रशिक्षकमाथि।

नेपालबाट २२ वर्षअघि अमेरिका छिरेका यी खेलाडी अमेरिकाको एक राज्यमा तेक्वान्दो स्कुल चलाएर बसिरहेका थिए । उनको यति लामो बसाईमा कुनै कतै दाग लागेको थिएन । तर गत वर्षको नोभेम्बरमा उनीमाथि बज्रपात नै भयो । उनीमाथि यौन दुव्र्यवहार लागेको आरोप लागेपछि जेल समेत बस्नु प¥यो । उनले जेल परेर पनि आरोप झूठो भन्दै आए । तर झण्डै एक वर्षपछि जेलबाट मुक्तमात्रै भएन उनले अमेरिकाको अदालतमा समेत चुनौती दिएर आफुलाई निर्दोष सावित गरे । उनीमाथि १९ वटा आरोप दर्ता भएकोमा सबैबाट उनी सफाई पाएर अहिले नेपाल फर्केका छन् । उनी कोही नभएर नेपालका पूर्व तेक्वान्दो च्याम्पियन शुद्धोधनमान रंजित हुन् ।

रंजितले कहिबाट कुनै आसा नै नभएको अवस्थामा पनि आफुलाई निर्दोष सावित गर्न पाउँदा त्यो भन्दा खुशीको कुरा केही नभएको बताए । उनले नेपाल समाचारपत्रसँगको कुराकानीमा भने—मैले त के मेरा वकिलले समेत आस गरेकी थिइनन् । झण्डै १ सय प्रतिशतमै म उम्कने स्थितिमा थिएन । तर भगवान हुनुहुन्छ । मैले गल्ती नै गरेको छैन भने म किन डराउने ? मैले लडेर ैनिर्दोष सावित गरें । अदालतमा जितेपछि भगवानले नै मलाई न्याय गर्नु भएको महसुस गरेँ ।


५१ वर्षीय प्रशिक्षक रंजितलाई गत नोभेम्बरमा जुम्ल्याहा दिदीबहिनी र उनकी साथी गरी तीनजनाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए । त्यहाँ एक आरोपमा नै एक व्यक्तिमाथि ५ वटा मुद्दा दर्ता हुने प्रावधान रहेको छ । तीन जनाले मुद्दा हालेपछि ओरेगन राज्यको वाशिंगटन काउन्टीमा उनीमाथि १५ मुद्दाको आरोप लाग्यो ।

जसमा जुम्ल्याहा दिदीबहिनी उनको युएस वल्र्ड क्लास तेक्वान्दोमा सन् २०१२ देखि २०१५ सम्म प्रशिक्षार्थी थिए । तर उनका साथी भने त्यहाँ कहिलेकाही मात्रै आउने गर्थिन् । उनले बताए—उनीहरु त्यतिबेला ९ देखि १२ वर्षसम्म मसँग प्रशिक्षण लिएका थिए । उनीहरुका अभिभावकले २ वर्षपछि मलाई अनुचित यौन दुव्र्यवहार गरेको भनेर आरोप लगाए । मैले बेल्ट लगाईदिँदा पछाडि भागमा छोएको भनेर उनीहरुको आरोप थियो । यस लगतै मलाई पक्राउ गरियो ।

दुई साता जेलमा बसेर ७ लाख ५० हजार डलरको धरौतीमध्ये १० प्रतिशत रकम तिरेर उनी बाहिर निस्केका थिए । उनको पासपोर्ट पनि जफत गरिएको थियो र उनलाई निगरानी गर्न जीपीएस पनि लगाइदिएको थियो । जीपीएसको माध्यमबाट उनको गतिविधिमाथि आरेगनका प्रहरीको निगरानी भइरहेको हुन्थ्यो ।

यसपछि करिब ६ महिनापछि २०१८ मे मा दिदीभाइ आएर उनीमाथि अर्को आरोप लगाइयो । उनीहरु यो मुद्दामा संलग्न हुनु आफुलाई फाइदा भएको रंजितले बताए । उनले भने—सन् २००७मा उनीहरुमाथि मैले यौन दुव्र्यवहार गरेको भनेर मलाई फेरि पक्राउ गरियो । तर यी दिदीभाइले मलाई मिथ्या आरोप लगाएको मलाई थाहा छ । अदालतमा भाइले दिदीले जे गर्नु भन्यो त्यही अनुसार मैले भनेको हो । उनले मलाई चिनेको छैन भनेर भनेपछि मेरो हौसला बढेको थियो ।

तापनि केटाकेटीको मामिलामाउनीहरुले जे बोल्यो त्यही हुने भएकोले रंजितको बच्ने कुनै बाटो थिएन । तर उनले अदालतमा नेवारी इन्टरप्रेटर राखेर ओरेगन राज्यमा एउटा नयाँ प्रविधि स्थापित भने गरे । उनलाई अदालतमा सरकारी वकिलले निकै कमजोर र नराम्रो बोलीले नर्भस बनाएको पनि उनले बताए । तर आफुले साढे २ घण्टा सरकारी वकिलसँग सफाइ पाउन संघर्ष गरेको भन्दै बताएँ—ट्रायलमा मैले लडें । मैले कहिल्यै यस्तो गरेको छैन भनेर बताएँ ।

त्यहाँ डाक्टर, इन्जिनियर ठूला हाइ प्रोफाइलका शिष्यहरु पनि उपस्थित थिए । उनीहरुले पनि म यस्तो प्रवृत्तिका व्यक्ति होइनन् र उनीहरुलाई मैले कहिल्यै त्यस्तो व्यवहार नगरेको भनेर दलील पेश हुनु पनि मलाई राहत मिलेको थियो ।
उनले बताए—अन्तिममा १४ जना सदस्यको जुरीले पेश गरेको प्रतिवेदनलाई मध्यनजरमा राखेर जजले मलाई निर्दोषको प्रमाणपत्र दिए । १९ वटा मुद्दामा एउटामा मात्रै दोषी पाए पनि मलाई कमसेकम ७५ महिना कैद हुन्थ्यो । म भन्दा खुशी त मेरी वकिल भइन् । जब जजले मलाई निर्दोष भएको निर्णय सुनाए तब उनी खुशीले उफ्रेकी थिइन् ।

रंजितले थपे—ती वकिलले मलाई धेरै नै धन्यवाद दिइन । उनले निर्णय सुनाउन २ मिनेट अगाडि सम्म पनि म छुट्छ भनेर विश्वास गरेकी थिइनन् । पहिले उनी प्रतिघण्टा ४ सय डलर लिने अहिले यो मुद्दा जिताएपछि उनले ८ सय डलर प्रति घण्टा लिने भएकी छिन् । त्यहाँको मिडियाले उनलाई उत्कृष्ट वकिल समेत भनेर बयान गरेको छ ।

यसैगरी रंजितको भनाइअनुसार यो मुद्दा पनि अमेरिकामा ऐतिहासिक भएको छ । १९ वटा आरोपबाट मुक्ती पाउनु त्यो आफैमा चमत्कार भएकोले पनि यसलाई अमेरिकाको अदालतको इतिहासमा सँधै सम्झने त्यहाँको मिडियाले जनाएको उनको भनाई रहेको छ ।

अमेरिका तातो मम
रंजितले फेरि अमेरिका गएर स्कूलमा प्रशिक्षण दिने बताएका छन् । उनले नेपालमा सुविधा सम्पन्न तेक्वान्दो स्कूल संस्थापन गर्ने विचार रहेको पनि बताए । उनी नेपालमै बस्न भने नसकिने बताउँछन् । ओरगन राज्यमा उनलाई श्रीमती रिता रंजित र छोरी स्मिता रंजितले स्कूलमा तेक्वान्दो सिकाउन सहयोग गरेका छन् ।

वर्षको एक पटक नेपाल फर्कने रंजितले बताए—परिवार सबै उतै छन् । अमेरिकाबाट नेपालमा आउन अलि गाह«ै हुन्छ । अमेरिका यस्तो देस हो कि न छाड्न सकिन्छ न बस्न सकिन्छ । यो तातो मम जस्तै हो । तातो मम पनि मुखमा हालेपछि न ओकल्न सकिन्छ न निल्न सकिन्छ । यसैले पनि अमेरिकामा बसोबास गर्न कठिन भएपनि धेरै जसो उतै बसेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्