मधुमेह रोग सम्बन्धी अन्तरकृया कार्यक्रम



पुष्कर बुढाथोकी, भक्तपुर ।
विश्व मधुमेह दिवसका अवसरमा भक्तपुरमा यो रोग सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा मधुमेह रोग बिशेषज्ञ तथा बीर अस्पतालका मधुमेह रोग बिभागका प्रमुख डा.बुद्ध कार्कीले मधुमेह रोगको कारण,असर र नियन्त्रणका उपायबारे प्रकाश पार्नुभयो ।

मधुमेहबाट बच्न र बचाउन दैनिक खानपानमा ध्यान दिन, नियमित ब्यायाम गर्न र तनावमुक्त जीवनशैली अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मधुमेहलाई नियन्त्रणमा राख्न सक्नु नै यो रोगको प्रमुख उपचार भएको डा.कार्कीले बताउनुभयो ।

नेपालमा करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिए पनि आधिकारीक रुपमा यो रोगका रोगीको खोजी राष्ट्रिय रुपमा नभएको उहाँले बताउनुभयो ।मधुमेहका कारण नसा,मुटु,मृर्गौला,खुट्टा र आँखामा गंभीर जोखिम हुन सक्ने भन्दै डा.कार्कीले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिने बताउनुभयो ।

डाईटिसियन रश्मी श्रेष्ठले कार्बोहाइडेटको मात्रा बढी भएको खाना, चिल्लो र गुलियो पदार्थ बढी खाँदा र नियमित ब्यायाम वा शारीरिक परिश्रम नगर्दा मधुमेहको सम्भावना बढ्ने बताउनुभयो ।
अन्तरकृया कार्यक्रममा केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ,डा.मोहनदेब भण्डारी,डा कल्पना श्रेष्ठ लगायतले समयमै साबधानी अपनाए मधुमेह रोगलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।
सन् १९९१ देखि हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो ।

विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाले औल्याए पनि ४० देखि ५० करोड मानिस मधुमेहबाट प्रभाबित रहेको प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्