प्रेस युनियन रोल्पाको अध्यक्षमा लोकेन्द्र चन्द



महेश न्यौपाने, रोल्पा ।
नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन । नेपाल प्रेस यूनियन जिल्ला शाखा रोल्पाको चौथो जिल्ला अधिवेशनवाट चन्द अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।

चन्दको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नव निर्वाचित उपाध्यक्ष खुला तर्फ नरेश आचार्य र समावेशी तर्फ टेकवहादुर विक चयन भएका छन । कार्यसमितिको अन्य पदाधिकारीहरुमा सचिव टंकप्रसाद आचार्य, सह सचिव भूमा पुन र कोषाध्यक्ष बालाजु श्रेष्ठ रहेका छन । युनियनको सदस्यमा गिरीराज थापा, रमेश आचार्य र उर्मिला आचार्य निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा लिलाराज वुढा, गगन रोकाया,रचना श्रेष्ठ, नारायण रेग्मी, तेजकुमारी विष्ट,संकल्प वुढाथोकी,पहलमान घर्ती,सन्ध्या वुढाथोकी,भावना हमाल र भूमा पुन रहेका छन । केन्द्रीय प्रतिनिधिहरुमा राजेश वुढाथोकी, कविता उपाध्याय, प्रकाशचन्द्र आचार्य,गणेश सुवेदी, भगवती मल्ल ,एञ्जिला घर्ती,तुलवहादुर डाँगी र रामचन्द्र आचार्य रहेको प्रेस यूनियन रोल्पाका निवर्तमान अध्यक्ष कविता उपाध्यायले जानकारी दिईन ।

उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा लोकतन्त्रवादी पत्रकारहरुले खेलेको भूमिको प्रशंसा गरेका थिए ।

अधिवेशनका प्रमुख अतिथि पूर्व सिचाई राज्य मन्त्री तथा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुनले दुई तिहाई वहुमतको नाममा पछिल्लो पटक वनेको सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हर्कत गरिरहेको औल्याउदै यसका विरुद्ध खवरदारी गर्न लोकतन्त्रवादी पत्रकारहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रेस यूनियनका पूर्व केन्द्रीय अध्यक्ष समिरजंग शाहले लोकतन्त्रवादी पत्रकारहरु फुटेर हैन जुटेर अघि वढे मात्रै नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता रक्षा हुने वताए । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

नेपाली कांग्रेस रोल्पाले आज प्रेस यूनियन रोल्पाको नव निर्वाचित पदाधिकारीहरुका लागि धन्यवाद ज्ञापन गरेको छ । जिल्ला पार्टी कार्यालय रोल्पामा आयोजित एक कार्यक्रममा वीच सभापति अमरसिं पुनले नव निर्वाचित पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका हुन ।

सोही अवसरमा सभापति पुनले नेपाली कांग्रेस र उसका भातृ एवम शुभेच्छुक संगठनहरुलाई विभाजित हुने छुट अव नरहेको वताउदै प्रेस यूनियनवाट एकताको सन्देश दिन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्