दशकौ बित्दा पनि बनेन तल्लीसातको झोलुंगे पुल



विमल बिष्ट, डोटी ।
शिखर नगरपालिका–११ तल्लिसातमा डेढ दशकअघि निर्माण सुरु भएको तल्लीसात झोलुंगे पुल अझै सम्पन्न हुन सकेको छैन । २०६१ सालमा निर्माण सुरु भएको पुल अहिले अलपत्र छ । पुल निर्माण गर्न साविकको जिल्ला विकास समितिले २०६१ सालमा निर्माण व्यवसायी दावा शेर्पासँग ठेक्का सम्झौता गर्नु भएको थियो ।

तर, उहाँले बीचमै काम छाडे । लामो प्रक्रियापछि उनीसँगको ठेक्का रद्द गरियो । त्यसपछि पुल निर्माणका लागि पुनः डोटीका निर्माण व्यवसायी छत्र कठायत संग निर्माण सम्झौता गरियो । तर, तोकिएको समयमा काम पूरा भएन ।
स्थानीयबासी रमेश सिंहका अनुसार पुलको साइडमा जालीको बार राखिएको छैन भने केबल पनि कस्सिएका छैनन् । पुलको केबल र अन्य सामग्री निर्माण स्थलमा अलपत्र छन् । निर्माण पूरा नहुँदै यात्रुहरूले पुलबाटै आउजाउ गर्न थालेपछि २०६८ सालमा पुल बांगियो ।

त्यसपछि पुल बनाउनुपर्ने माग राखी स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएपछि पुल सोझ्याइएको अर्का स्थानिय भरत मल्लले बताउनु भयो ।

‘ठेकेदारले आफ्नो काम पूरा गरिसकेको भन्छन् । तर, पुल निर्माण पूरा हुन सकेको छैन,’ मल्लले भन्नु भयो ‘पुलको बाँकी काम कसले गर्ने हो थाहा छैन ।’ ठेकेदारले पुल निर्माण सम्पन्न नगर्न विभिन्न बहानाबाजी गरेको स्थानीयको आरोप छ ।

पुलका केबलहरू कस्सिएका छन् । यात्रु ओहोरदोहोर गर्दा पुल हल्लिने गरेको स्थानीयबासी बताउँछन् । पुलका केबल नकस्सिएकाले बाँगिएको शिखर नगरपालिका–११ का देवबहादुर किमाडी बताउछन् । ‘पुल निर्माण सुरु हुँदा द्वन्द्वकाल थियो, अहिले देशमा गणतन्त्र आइसक्यो, हाम्रो बारपाटा गाउँ विकास समिति नगरपालिकामा परिणत भइसक्यो’ उहाँ भन्नु हुन्छ, ‘१४ वर्षमा धेरै विकास भयो, तर, यो पुल बनेन ।’

पुल निर्माण सम्पन्न गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ । यस क्षेत्रबाट चुनाव जितेका नेताले पनि पुल निर्माण पूरा गर्न पहल नगरेको स्थानीय गुनासो पोख्छन् । यस विषयमा ठेकेदार छत्र कठायत संग थप बुझन खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्