गोपी माघमा



पत्रकार दीपेन्द्र लामाको निर्देशनमा बनेको दोस्रो फिल्म गोपी माघ १८ मा रिलिज हुने भएको छ। यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी पूर्वघोषित मितिअघि नै रिलिजमा आउन लागेको हो।

घामपानी नामक सफल फिल्मबाट निर्देशनमा डेब्यु गरेका लामाको गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त मुख्य भूमिकामा छन्। विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन्। फिल्मको पोस्ट प्रोडक्सन चाँडै सकिएको र दर्शकले फिल्म छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मै रिलिजमा ल्याउन लागिएको दाबी निर्देशक लामाले गरेका छन्। आफ्नो पहिलो फिल्म घामपानीले जस्तै गोपीले दर्शकलाई सन्तुष्ट बनाउने दाबी पनि लामाको छ।

‘फिल्मको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल माघ १८ देखिएकाले हाम्रो छनोटमा उक्त दिन परेको हो’ –निर्माता मणिकर्ण केसीको भनाइ छ। आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामीप्यराज तिमल्सिनाले बताए।

काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्हयु बज्राचार्य, अर्जुन पोखरेल र कल्याणसिंहको संगीत तथा बिप्लव प्रतीक र बुद्धिसागरको गीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्