सुरेशको पहिलो दैलो



रंगमञ्चदेखि सानो पर्दा हुँदै ठूलो पर्दासम्म छाउँदै आएका पुराना रंगकर्मी तथा अभिनेता शुरेश उप्रेती केही समयको अन्तरालपछि आफ्नै लेखन र निर्देशनमा सामाजिक कथावस्तुमा आधारित फिल्म दैलोका साथ प्रस्तुत हुँदै छन्। भोलि शुक्रबारबाट अल नेपाल रिलिजमा आउने फिल्ममा उनी स्वयं मुख्य अभिनेताको भुमिकामा छन् भने फिल्मको कथा, पटकथा र संवाद तथा एउटा गीत पनि उनी आफैंले लेखेका छन्।

‘मैले अहिलेसम्म काम गरेका अन्य फिल्म र यो फिल्ममा भिन्नता छ। यसमा मैले आफ्नो क्षमताको केही अंश देखाउन पाएको छु। चरित्रभित्रै पसेर मानव मर्मलाई प्रस्तुत गर्ने कोशिस गरेको छु। सामाजिक विषयवस्तुमा बनाइएको दैलोको सिंगो कन्टेन्टसँगै पटकथा र संवाद बलियो भएकाले फिल्म हर्ने दर्शकले यो कसले लेखेको होला भनेर एकपटक सोच्छन्’, सुरेशको भनाइ छ– ‘दर्शकले भोलि शुक्रबार हलमा गएर दैलो हेरे भने शनिबारदेखि दर्शक आफैं आउनेछन् भन्ने भित्री विश्वास छ।’

फिल्ममा सुरेशका साथमा दुर्गा साउद, म्युजिक भिडियो दीपक डोटेल, रंगमञ्चका कलाकार प्रदीप अधिकारी, दीक्षा आचार्य मुख्य रोलमा छन् भने विकास चापागाईं, सपना श्रेष्ठ, विराटनगरका रंगकर्मी जीवन लुइँटेललगायतले समेत अभनिय गरेका छन्। ‘दैलोका धेरैजसो कलाकार रंगमञ्चबाट खारिएर आएका तर फिल्ममा चाहिँ भर्जिन अनुहार हुन्। फिल्मको कन्टेन्ट स्ट्रङ र खारिएर आएका भर्जिन अनुहारका कारण फिल्म पावरफुल बनेको छ। मैले एक सिन खेल्नेलाई पनि पारीश्रमिक दिएको छु भने एउटा डाइलग बोल्ने मान्छेलाई पनि अडिसन लिएर फिल्मका लागि छानेको छुु’ –सुरेशले भने। जमुनादेवी फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मका निर्माता अर्जुनकुमार उप्रेती र यशोदा उप्रेती रहेका छन्। फिल्ममा गीत सुरेश उपे्रती र विमल भट्टराईको रहेको छ भने संगीत लक्षुप्रताप मल्ल, कोरियोग्राफी कमल राई र गम्भीर विष्ट, छायांकन विमल भट्टराई र सम्पादन तारा थापा ‘किम्भु’ को रहेको छ।

जन्मस्थान झापामा रहँदै २०४५ सालदेखि कला क्षेत्रमा लागेका सुरेश उप्रेती २०४७ सालमा काठमाडौं आएर कला यात्रा समूहसँग आवद्ध भई नाटक, भिडियो फिल्म तथा टेलिफिल्ममा अभिनय गर्दै आफ्नो कला यात्रालाई अगाडि सारिरहेका थिए। उनको पहिलो टेलिफिल्म सनइ रोइरहेछ थियो भने मुग्लाने काइँला नामक टेलिफिल्ममा उनले गरेको मुग्लाने काइँलाको भूमिका निकै मन पराइएको थियो। झापामा रहँदा उनले सडक नाटक पनि गर्थे भने निर्देशन तथा सूत्रधारको काम गर्ने गरेका थिए।

‘काठमाडौं आएपछि कला यात्रा अगाडि बढाउने क्रममा सानोतिनो रोल गर्दैै गर्दा किशोर रानाको घामछायाँ भन्ने फिल्ममा राम्रो रोल पाएँ। त्यसपछि साथीहरूसँग मिलेर परदेशी भन्ने फिल्म बनायौं र बक्ररेखा भन्ने फिल्ममा दीपक आलोकको असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गरें।’ कुनैबेला सशक्त खलनायकका रूपमा समेत चर्चा कमाएका कुशल कलाकार सुरेश सम्झन्छन्। ‘बन्धकी फिल्ममा राम्रो रोल पाएँ। त्यसबाट बेस्ट भिलेनको नोमिनेसनमा पनि परेको थिएँ। नेपाल टेलिभिजनका लागि आफ्नै निर्माणमा मोड भन्ने सिरियल बनाएपछि आर्थिकरूपमा पनि राम्रो भयो र मेरो जीवनस्तरमा केही परिवर्तन आयो। त्यही मौकामा अर्को एक सिरिएल बनाएँ’, सुरेशले सुनाए– ‘तर प्राविधिक कारणले आउन नसकेपछि फेरि मेरो कला यात्रामा लामो ग्याप भयो। २०५९÷६० सालताका फिल्ममा मेरो राम्रो माग र चर्चा भइरहेको थियो। त्यतिबेला म आफ्नै सिरिएलमा लागें। टेलिफिल्ममा लागेपछि मानिसहरूले बिर्सिए र फिल्ममा बोलाउन छाडे, यसरी नै म पछाडि परें। म खलपात्रभन्दा पनि आफूलाई एउटा कलाकार मान्छु र जुनसुकै भूमिका पनि निर्वाह गर्न सक्छु।’

अभिनय क्षेत्रबाट पछाडि रहे पनि सफल कलाकार बन्छु भन्ने भित्र गडिएर बसेको चिजलाई उनले छोडेनन्। ‘केही समयका लागि अभिनयसँगको मेरो नाता तोडिएको थियो। तर ऐनासँगको नाता कहिल्यै तोडिएन’ –उनले भने। घायल प्रेम, नशा छाएपछिजस्ता भिडियो फिल्ममा उनले गरेको कामले स्वदेश र विदेशमा राम्रो प्रतिक्रिया बटुलेको थियो। नशा छाएपछि विदेशका फस्टिभलमा चल्ने फिल्म बन्न पुग्यो। त्यसले विदेशमा राम्रै चर्चा पाएको थियो।

त्यसो त सुरेशले अर्को फिल्म रिपोर्टर बनाउने प्रयास पनि गरे। ‘त्यसका लागि स्क्रिप्ट लेख्न शुरू गरें। तर लेख्दै जाँदा फिल्मका लागि ठूलो बजेट लाग्ने भयो र निर्माण गर्न नसक्ने भएपछि त्यसलाई पूरा गरिनँ। त्यसपछि मैले कुन कन्सेप्टमा लेखौं भन्ने सोचिरहँदा विवाहमा लिइने दाइजोलाई सूक्ष्मरूपमा नियालें। विवाहको कुरा छिन्दा केही नभन्ने तर पछि दाइजोको बार्गेनिङ गर्दै जाने परम्पराले मन छोयो र यही मुद्दालाई उठाएर दैलो बनाएँ। बुबा आमाले आफ्नो छोराछोरीलाई गरेको माया र केयरको रिर्टन पाउँछन कि पाउँदैनन त भन्ने कुरा पनि अनुसन्धान गर्न थालें र धेरै आमाबुबाहरू घाँडो भएको पाएँ’, सुरेशले दैलोको सार सुनाए– ‘त्यसले पनि मलाई समात्यो। यसैलाई इस्यु बनाएर फिल्म निर्माण गरेको छु। फिल्म हेर्दा दर्शक रमाउनेछन्, रुनेछन् अनि फेरि रमाउनेछन्। फिल्ममा मैले उठाएको प्रश्नको जवाफमा दर्शक घोत्लिनेछन्।’

प्रतिक्रिया दिनुहोस्