कहाँ छ नेपाली समाज ?



विश्व एक्काइसौं शताब्दीमा लम्किरहँदा नेपाली समाजलाई विभिन्न अन्धविश्वासले गाँजिरहेको छ । जतिसुकै सामाजिक अभियान गरिए पनि महिलामाथि बोक्सीको आरोपमा अमानवीय हिंसा गर्ने शृङ्खला जारी छ ।

नेपालको संविधानले महिला अधिकारबारे स्पष्ट व्यवस्था गरे पनि अन्धविश्वासका नाममा बोक्सीको आरोपमा प्रताडना खेप्नुपरेका थुप्रै महिला मारिनुपर्ने, आगोमा जल्नुपर्ने, मलमूत्र खानुपर्ने, कुटिनुपर्ने अवस्था विद्यमान छ । धनुषाकी ३० वर्षीया मन्तोरियादेवी मण्डललाई परिवारका सदस्य मिलेर कुटपट गरी समाजका भलाद्मी ठानिएकाहरुले ५० हजार जरिबाना गराएर भोज खुवाउन बाध्य पारे । पीडित महिला निरीह र कमजोर भएकै कारण ठालुहरुले भोज खाने बहाना बनाएका हुन् ।

संविधानमा महिलाको अधिकार लेखिए पनि राज्यबाट सुरक्षाको प्रत्याभूति हुन सकिरहेको छैन । बलात्कार, बेचबिखन, बोक्सी आरोपमा हिंसाजस्ता सामाजिक अपराध न्यूनीकरण हुन सकिरहेको छैन । यस्ता घटनामा यातना पाउने व्यक्ति निरीह हुने र दिने पक्ष पहुँचवाला हुने कारण दण्डहीनताले प्रश्रय पाइरहेको छ । अन्धविश्वासले यति विघ्न पराकाष्ठा नाघिसकेको छ कि आजको जमानामा पनि बोक्सीको आरोपमा परिवारकै सदस्यबाट महिला पीडित हुनु विडम्बना हो ।

सामाजिक विभेद र अन्धविश्वास अन्त्य गर्ने भनेर विविध चुनौती र हस्तक्षेपका बाबजुद हामीले नयाँ संविधान प्राप्त गरेका थियौँ । नयाँ संविधान जारीपश्चात् मुलुक तीन तहको विर्वाचन सम्पन्न गरेर संघीयता कार्यान्वयनमा अघि बढ्यो । गाउँगाउँमा सिंहदरबारको अधिकार स्थापित हुने नारा घन्काइयो । तर, अमानवीय अपराधहरु झनै बढेर गए । बोक्सी आरोपमा अधिकारकर्मी नै कुटिएका र जनताबाट चुनिएका भनिएका जनप्रतिनिधि नै अपराधीलाई जोगाउन उद्यत देखिए ।

गत फागुन २४ गते देशभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा कैलालीको एक थारू बस्तीमा बोक्सीको आरोपमा १८ वर्षीया राधा चौधरी निरन्तर ६ घण्टा निर्घात कुटिइन् । स्थानीयले ताली बजाउँदै उक्त बर्बरताको रमिता हेरे । प्रहरीले कुटपिट गर्नेलाई पक्राउ गरे पनि घोडाघोडी नगरपालिकाका मेयर र वडाध्यक्षको दबाबमा छाडियो । उक्त घटनाको देशभर व्यापक विरोध भयो । अहिले कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीसहित तीनजना अदालतको आदेशपछि कैलाली करागारमा सजाय भोगिरहेका छन् । दुर्भाग्य, फेरि तिनै राधा कात्तिक २२ गते लक्ष्मीपूजाको दिन बोक्सी आरोपमै कुटिएको खबर सार्वजनिक भएको छ ।

यस्ता विविध घटनाहरू बढोत्तरी हुँदै जाँदा बोक्सी प्रथाबारे बनेका नियम र कानुन निस्प्रभावी बन्न पुगेको अनुभूति गरिएको छ । मुलुकी ऐनले बोक्सीको आरोपमा दुव्र्यवहार गर्नेविरुद्ध तीन महिनादेखि दुई वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म कैद र दुवै सजाय हुने व्यवस्था गरेको छ । नेपालले महिलामाथि हुने सबै खालका हिंसा र भेदभाव अन्त्य गर्ने घोषणासमेत गरेको छ । तर, राजनीतिकरुपमा जतिसुकै परिवर्तन आए पनि सामाजिक अन्धविश्वासमा कमी नआएको विभिन्न दृष्टान्तले पुष्टि गरेका छन् ।

बोक्सी प्रथा हाम्रो सामाजिक संरचनासँग अन्तर्सम्बन्धित छ । किनभने जहाँ गरिबी र अभाव, अशिक्षा र पिछडिएको बस्ती छ, त्यहाँ बोक्सी प्रथा मौलाएको देखिन्छ । एकल महिला, दलित, मधेसी समुदाय, शारीरिक दुर्बलता भएका महिला बढी प्रताडित भएका पाइएका छन् । हुनेखाने, पहुँच र प्रभाव भएका उपल्लो वर्गका महिला बोक्सी ठहरिएको कहीँ कहिल्यै सुनिदैन ।

कमजोर वर्गमाथि आफ्नो शक्ति कायम राख्न बोक्सीको आरोप लगाएर शोषण गर्ने प्रवृत्तिले महिला पीडित हुनुपरेको हो । यस्तो अन्धविश्वास हटाउने दायित्व राज्यको हो । तसर्थ, राज्यले यस्ता अन्धविश्वास र कुप्रथाहरुलाई निरुत्साहित गर्न अभियान नै सञ्चालन गर्नु अपरिहार्य भएको छ ।
– कञ्चन विक, कास्की ।

प्रतिक्रिया दिनुहोस्