राष्ट्रियताप्रति सचेत नेपाली सेना



-प्रकाश रायमाझी
विश्वमा नेपाली सेनाको विशिष्ट पहिचान स्थापित छ । संयुक्त राष्ट्र संघमा पनि नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरिआएको छ । बेलायत, भारतमा गोर्खाली सेनाको नामबाट नेपाल चिनिएको छ । नेपाली सेना नेपालको सार्वभौमसत्ताप्रति बफादार रहिरहने एक स्थापित संगठन हो ।

राणाकालीन समयमा देशका लागि आवश्यक पर्ने हातहतियार निर्माण गर्ने कारखाना नोपाली सेनाबाट यहीँ नै खोलिएका थिए । सुन्दरीजल, गठ्ठाघर, स्वयम्भू बारुदखानामा सैनिक प्रयोजनका लागि हातहतियार निर्माण हुन्थे । तर आज नेपाली सेनाको लागि स्वदेशमा नै हतियारको उत्पादन गर्नको सट्टा विदेशबाट सुसज्जित हतियार आपूर्ति गर्नेमा मात्र सक्रिय छन् ।

तथापि सेनालाई अत्याधुनिक प्रविधिबाट निर्माण गरिएका हातहतियारहरु खरिद गर्नुपर्ने र निरन्तर अभ्यास गराइरहनुपर्नेमा आजभोलि राज्य क्रियाशील हुन सकिरहेको छैन । किनकि सेनालाई राज्यसत्ताले राष्ट्रियताको मामिलाबाट अलग्याउन खोजेकाले देशका सिमाना तथा राष्ट्रियतामा खतरा देखिन लाग्दा पनि नेपाली सेनाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने अवस्थामा देखिँदैन । नेपालको राष्ट्रियता र प्रजातन्त्र दुवै संकटमा परेको अवस्थामा पनि सत्तासीनहरुं बुझ पचाएर बसेका छन् । यस्तो अवस्थामा नेपाल सरकार गतिहीन र सैनिक सुदृढीकरणको पक्षमा निर्णायक भूमिका निर्वाह गर्न नसकेर नीतिगत तहमा निकै कमजोर भइरहेको छ ।

नेपाली सेनाले आफ्नो देशको सुरक्षा नीति तर्जुमा गर्न सक्षम हुँदाहुँदै २०६३ सालपछि नेपाल सरकार विदेशीको इशारामा चल्ने गरेकाले नेपालको सुरक्षा नीति अन्योलग्रस्त छ । तर विदेशीहरुको प्रलोभनमा केही सेनाभित्रका व्यक्तिहरु निहित स्वार्थका लागि लागेका पनि भनिन्छ । उनीहरु सत्ताको मुख ताकेर आफूलाई कथाकथित सैनिकविद् भनेर राष्ट्रको स्वाभिमानलाई आँच पु¥याउने कोशिश गरिरहेका छन् पनि भनिन्छ । निवृत्त भएका केही सैनिक अधिकृतसमेत आफ्नो तुच्छ स्वार्थ पूर्ति गर्न सैनिक नीतिसम्बन्धी अनावश्यक टीकाटिप्पणी गरेर विदेशीको इच्छाअनुरुप नेपालमा डलर खेती गर्ने गरेका छन् ।

नेपाली सेना नेपालको राष्ट्रियता र अखण्ड सार्वभौमसत्ताको लागि हर्दम अडिग रहिरहनुपर्ने उसको मूल आदर्श हो । तर कतिले भन्छन्– नेपाली सेना राजनीतिक दलका नेताको पछि लागेर आफ्नो स्वार्थसिद्ध गर्ने कार्यमा लाग्ने गरेकाले नेपाली सेना राष्ट्रको लागि बोझिलो बन्न पुगेको हो पनि ।

यी सबै गन्जागोलले गर्दा अनेकौं आरोपहरु सेनाका जिम्मेवार व्यक्तिहरुले सुनेर पनि बुझ पचाएरै बसेका छन् । नेपाली सेनाले पार्टीको सरकारको समर्थन गर्दै नगरोस् भनेको होइन, तर सार्वभौमसत्तालाई असर पर्ने राष्ट्रका संवेदनशीलताको विषयमा कसैले भने पनि आफ्नो कर्तव्यमा आँच पु¥याउन नहुने हो । तर पार्टीका नेताहरुले देशको सार्वभौमसत्ता, एकता र स्थायित्वमाथि चोट पु¥याएर राष्ट्र विखण्डनजस्ता अपराध गर्दा पनि टुलुटुलु हेरेर बस्ने काम गर्नुहुँदैन । माओवादी शान्ति वार्तामा आएपछि विदेशीहरुलगायत संयुक्त राष्ट्र संघको अनमिनले नेपाली सेनाप्रति मनोबल घटाउने काम गरेका बेलादेखि नेपाली सेना निष्क्रिय बन्न पुगेको हो । यसैले गर्दा नेपाली सेनाप्रति नेपालीहरुको विश्वास गुम्दै गएको हो, जुन यो देशको लागि खतरनाक कुरा हो ।

उता नेपाली सेनालाई कमजोर बनाउन लोक सेवा आयोगबाट परीक्षा लिने परम्परा बसाल्न खोजेर सेनालाई आवश्यक पर्ने युवा जनशक्तिलाई निरुत्साहित बनाउने प्रयत्न पनि गरियो । नेपाली सेनाको आफ्नै नियुक्ति, बढुवा, सरुवा र सेवा निवृत्त गर्ने उहिलेदेखि नै आफ्नै व्यवस्था भइरहेकोमा हचुवाका भरमा नेपाली सेनालाई निजामती कर्मचारीजस्तो बनाउन खोजिएको छ । यो निर्णय यथाशीघ्र परिवर्तन गरी नेपाली सेनाको पहुँचमा सेनाको दरबन्दी कायम रहनुपर्छ । यस्ता विभिन्न परिस्थिति देखेर वर्तमान राजनीतिक अन्यौलको अवस्थामा विदेशीहरु निकै उत्साहित भएर सल्बलाएका छन् । डलर मात्र होइन, अहिले त उत्तरतर्फबाट पनि खर्च–बर्च जुटाएर केही व्यक्ति सैनेविद्का नाममा सेनाको इतिहासलाई लज्जित तुल्याउने कार्यमा उद्यत् भइरहेका छन् ।

दलहरुको जस्तोसुकै कलह भए पनि राष्ट्रिय सुरक्षाको मामलामा एकजुट भएर देशको स्वाधीनतालाई अक्षुण्ण राख्न कोशिश गर्नुपर्छ । दलगत स्वार्थबाट सेनालाई परिचालन गरिने प्रयास भयो भने राष्ट्रिय सुरक्षा नीति खल्बलिन सक्छ । अनि त्यस मौकामा नेपालमा जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता खलबल्याएर विदेशी गुप्तचरहरुले समेत देशको मर्मलाई कुण्ठित तुल्याइदिन सक्छन् ।

यस्तो विषम् परिस्थितिमा विदेशी गुप्तचरहरुले नेपालको राष्ट्रिय स्वार्थलाई कमजोर बनाउने प्रयासमा जुटिरहेका छन् । पहाडका गुम्बाहरुमा को–कस्ता व्यक्तिहरु बसिरहेका छन् ? तिनलाई भेट्न सी.आई.ए.का प्रमुखदेखि युरोपियन युनियनका ठूला व्यक्तिहरु खुल्लंखुल्ला आवतजावत गर्छन् ।

पर्वतारोहणको नाममा विदेशी सैनिकदेखि गुप्तचरसम्म हिमाली भेगका हरेक ठाउँमा पुगिरहेका हुन्छन् । उनीहरुले यहाँबाट स्वतन्त्र तिब्बतको मुद्दा उठाउने र दक्षिणतर्फको छिमेकीलाई समेत खलबल पु¥याउने षड्यन्त्र रचिरहेका छैनन् भन्न सकिन्न । बौद्धलगायतका कैयौँ ठाउँमा हतियारधारी स्वतन्त्र तिब्बतका अनुयायीहरु परिचालन गरिएको नेपाल सरकारलाई थाहा हुनुपर्ने हो । तर चीन यी सबै कुराको अध्ययन गरेर होला, नेपालमा कसैलाई मतियार बनाएर नेपालमा वान बेल्ट, वान रोडको नीतिलगायत अनेकौं आयोजनाहरु कार्यान्वयन गर्ने भनेर नेपालमा प्रवेश गर्दै छ ।

यसको लागि प्रधानमन्त्री केपी ओलीलाई चीनले हस्ताक्षर गराउने अवसर पायो । पश्चिमाहरुको चलखेल र चीनको प्रवेशले अबका दिनमा नेपाल विदेशीहरुको रणभूमि बन्दै छ । त्यो बेला नेपाली सेनाको भूमिका के हुनसक्छ ? भारत, अमेरिका नेपालमा चीनको प्रवेश चाहँदैन । चीन आफ्नो सुरक्षाको लागि अनेकौं चाल रचेर नेपालमा आउनु शुभ संकेत होइन । यता एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको भागवण्डाको सरकार छ । तर सरकारलाई देशको गम्भीर चासोको विषयमा विश्लेषण गर्ने फुर्सद नै छैन । राष्ट्रियताप्रति कोही चिन्तित छैनन् ।

निजामती कर्मचारी तथा रक्षा मन्त्रालयका केही उच्चपदस्थ कर्मचारीहरुसमेत आफू अनुकूलको लाभ प्राप्त हुने क्षेत्रमा दौडधूप गर्छन् । नेपालमा खुलेका सैनिक सुरक्षाको विषयमा सरोकार देखाउने एनजीओ, आईएजीओहरुलाई प्रोत्साहित गर्ने सरकारी नीति यो मुलुकका लागि अभिशाप बन्न पुगेको छ । यस हिसाबले आन्तरिक र बाह्य सुरक्षाका लागि सधैँ अब्बल रहने नेपाली सेनाकोे गौरवशाली इतिहासलाई लत्याउन नदिन नेपाली सेना सचेत हुनै पर्दछ । भारत सरकारले आफ्ना सेनाका लागि विश्वका उत्कृष्ट हातहतियारदेखि हेलिकोप्टर खरिद गरेर तालिम दिने गर्दछ । यता नेपालमा भने भारतीय सेनामा काम नलागेका प्रतिबन्धित हतियार दिएर गुण लगाएजस्तो गरी हाम्रो सेनाको संगठनलाई कमजोर तुल्याउने कुचेष्टा भइरहेको छ ।

विनापैसामा त्यस्ता हतियार दिएर हाम्रो अपमान मात्र भएको छैन सेनाको उच्च मनोबललाई टुटाउने प्रयत्नसमेत हुन गएको छ । सेनाभित्रकै पनि केही व्यक्ति यस्ता कार्यमा चलखेल गर्लान् तर देशभक्त सेनाहरुले मनोबललाई टुटाउनुपर्ने अवस्था छैन । सैनिक कूटनीतिक पनि आफ्नै खालको हुनुपर्छ, जसको माध्यमले नेपाली सेनालाई आवश्यक पर्ने अत्याधुनिक हातहतियारले सुसज्जित गर्न सकिन्छ ।

राजनीतिक अस्थिरता संक्रमणकालको नाममा नेपालले धेरै पीडाहरु खेपिरहेको छ । देशभक्तिले ओतप्रोत भएका राजनेताहरुको जन्म नभएसम्म यो भूमि छट्पटिरहनेछ । वीर पुर्खाहरुले जोगाइराखेको स्वतन्त्र स्वाभिमान राष्ट्रवासीलाई केही समयदेखि ग्रहण लागिरहेको छ ।

हतियार कमिसनका नाममा माओवादी द्वन्द्वका समयमा पनि शेरबहादुर देउवा पहिला प्रधानमन्त्री भएको समयमा इन्सान राइफल नेपाल भित्र्याउने कार्य भएको थियो । अब भारतमा मात्र भर पर्ने गरी कुनै पनि हातहतियार सेनाले खरिद गर्नुहुँदैन । कुनै बेला हातहतियारको मर्मत–सम्भार गर्नुपर्ने हुन्छ, त्यस बेला कुटनीतिक सम्बन्ध बिग्रिएको अवस्था प¥यो भने सेनालाई खरिद गराइएका हातहतियारको मर्मत–सम्भारसमेत हुन नसक्ने जटिल परिस्थिति उत्पन्न हुन्छ । एउटै देशबाट मात्रै हतियार खरिद गर्दा बिक्री गर्ने देशले खरिद गर्ने देशको सैनिक क्षमताको आँकलनसमेत गर्ने गर्दछ । राजनीतिक दलहरुले राजनीतिक मुद्दा मात्रै उठाएर सैनिक क्षेत्रको विषयमा अनभिज्ञ हुँदा हाम्रो राष्ट्रिय सुरक्षा नीति कमजोर हुँदै छ ।

दलहरुको जस्तोसुकै कलह भए पनि राष्ट्रिय सुरक्षाको मामलामा एकजुट भएर देशको स्वाधीनतालाई अक्षुण्ण राख्न कोशिश गर्नुपर्छ । दलगत स्वार्थबाट सेनालाई परिचालन गरिने प्रयास भयो भने राष्ट्रिय सुरक्षा नीति खल्बलिन सक्छ । अनि त्यस मौकामा नेपालमा जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता खलबल्याएर विदेशी गुप्तचरहरुले समेत देशको मर्मलाई कुण्ठित तुल्याइदिन सक्छन् । नेपाली सेनाले अत्यन्तै कठिन परिस्थितिमा पनि नेपालको छविलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उज्ज्वल राख्न सफल भइरहेकोमा विगत केही समयदेखि सेनामा विदेशीहरुको अनावश्यक हस्तक्षेपलाई नेपाली सेनाले समयमा नै नकार्न सक्नुपर्छ ।

सेनामा विघ्न पु¥याउने बहालवालादेखि निवृत्त भएका अधिकृतहरुको गतिविधिलाई समेत गहनरुपमा अध्ययन गरिनु जरुरी भइसकेको छ । सेना राष्ट्रको साझा सम्पत्ति हो । त्यसको रक्षा गर्नु हामी सबै देशवासीको धर्म हो । वीर गोर्खाली सेनाको योगदानलाई यो राष्ट्रले कहिल्यै भुल्ने अवस्था आउन दिनुहुँदैन । हामीलाई विश्वास छ– वर्तमान प्रधानसेनापतिले नेपाली सेनालाई कसरी पहिलाकै जस्तो प्रभावशाली राख्न सकिन्छ भनेर यस विषयमा सशक्त भई आफ्नो कर्तव्य पूरा गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्