ललितपुर विश्वकै ३५ औंँ ‘कला नगरी’



नेपाल समाचारपत्र, काठमाडौ । ललितपुर महानगरपालिकालाई अब विश्वको ३५ औंँ ‘कला नगरी’ का रूपमा विश्वमा दर्ज भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा विश्व कला परिषद्द्वारा ललितपुरलाई सोको उपमा दिइएका हो । उक्त अवसरमा परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभएको थियो ।

पाटनमा तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकद्वारा निर्मित सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप, पाँचाँै शताब्दीमा निर्मिते हिरण्यवर्ण महाविहार, सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा निर्मित कलाकौशल, पेमबहाल पोखरी, सुन्धारा र कृष्ण मन्दिर, आदि जस्ता ऐतिहासिक सम्पदा रहेका छन् ।

महानगरले केही समय अघि यसका लागि आवेदन भरेको थियो । उक्त परिषद्को मुख्य कार्यालय संयुक्त अधिराज्यमा रहेको छ । विश्वका ३४ शहरलाई ‘कला नगरी’ घोषणा गरिसकिएको छ । यसको महत्वलाई यथावत् राखी गरिमामय कार्य गर्नका लागि शाखाहरु बनाउने लगायतका योजना ल्याउन लागिएको महानगले जनाएको छ ।

पाटनलाई मन्दिरै मन्दिरको शहर भनिन्छ । ललितपुर महानगर काष्ठकला, मूर्तिकला, थान्कालगायत कलामा निकै धनी छ । यहाँको हस्तकला पनि ठाउँपिच्छे फरक फरक पाइन्छ ।

यसरी विश्वको सूचीमा नाम दर्ज भएको यो पहिलो अवसर हो । ललितपुर महानगरपालिका यो अवसर पाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्