जसले बेचे उनैले चोरे भैंसी



रोशन पराजुली, हेटौंडा ।

मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेका नवीन उप्रेतीको ब्याउने बेलाको भैंसी कार्तिक २४ गते राति चोरियो । आफ्नो डेढ लाख पर्ने भैंसी खोज्न तिहारलगत्तै उनी सक्रिय भए । उनी भैंसी खोज्दै पर्साको सखुवा प्रसौनी पुगे । त्यहीं उनले भैंसी फेला पारे ।

उनको भैंसी चोरेर लगेका थिए आफ्नै घरमा नियमित आउने भैंसी ब्यापारी ५० वर्षीय दौलत राउतले । भैंसी चोरिनु दुई दिनअघि राउत उप्रेतीको घर पुगेका थिए । चोरिएको भैंसी प्रहरीको सहयोगमा फेला परेपछि उप्रेतीको खुशी फर्किएको छ । चोरिएको भैंसी भेटिएपछि उनलाई राहत मिल्यो ।

चोरी भएको भैंसी प्रहरी सहयोगमा फिर्ता ल्याइएको छ । भैंसी राउतको घरमा भेटिएपछि उप्रेती परिवारले प्रहरीमा खबर गरे । पर्सा प्रहरीले राउतलाई पक्राउ गरी भैंसीसमेत इलाका प्रहरी कार्यालय मनहरीलाई बुझाएको छ ।

चोरिएको भैंसी हराएर खोजिरहेकी मनहरी–८ की बुद्धिकुमारी गिरीको भैंसी र पाडो पनि राउतकै घरमा भेटिएको छ । दूधालु भैंसी र पाडो खोजीदिन प्रहरीमा आग्रह गरेकी गिरी पनि राउतकै घरमा भैंसी भेटिएपछि आश्चर्यमा परिन् ।

भैंसीहरुलाई ट्रकमा हालेर सखुवा प्रसौनीबाट चोरी गर्ने व्यक्तिसमेत पक्राउ गरी ल्याइएपछि इलाका प्रहरी कार्यालय मनहरीमा हेर्नको भीड लागेको थियो । पक्राउ परेका राउतलाई थप अनुसन्धानका लागि अदालत पेश गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताउनुभयो ।

पक्राउ परेका राउत केही वर्ष अघिदेखि तराईबाट मकवानपुर र चितवनसम्म भैंसी बिक्री गर्ने ब्यापारी हुन् । अन्य पनि चोरीमा संलग्न हुनसक्ने भएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

राउतलाई चोरी मुद्धा लगाउन पीडितले जाहेरी दिएका छन् । जसले भैंसी बेचेका थिए, उनैले चोरी गरेपछि मनहरीबासी चकित छन् ।

प्रतिक्रिया दिनुहोस्