पर्यटकिय गन्तव्य बन्दै जन्तीडाँडा



धनवीर दाहाल, रुकुम ।
रुकुमको पर्यटकिय क्षेत्रहरु मध्य ओझेलमा परेको तर पर्यटक पुग्नै पर्ने ठाँउ हो जन्तीडाँडा । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ स्थित जन्तीडाँडा पर्यटक लोभ्याउने आकर्षक गन्तव्य बन्न थालेको छ । ऐतिहासिक महत्व बोकेको तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस डाँडासम्म पुग्ने जो कोही पर्यटकको मन लोभ्याउने गरेको उनीहरु बताउँछन् ।

दुईहजार सातसय ५० मीटरको उचाईमा रहेको जन्तीडाँडाबाट यस जिल्लाको साथै रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट लगायत जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । सदरमुकामको खलंगाबजारबाट आधा घण्टा गाडी र त्यसपछिको एकघण्टा उकालो हिडेपछि यस डाँडामा पुग्न सकिने स्थानीय ऐभान केसीले बताउनुभयो ।
यस मौसममा रुकुम पूर्वको सिस्ने हिमाल, पुथा हिमाल, कमलताल र पश्चिमको स्यार्पूतालको स्पष्ट अवलोकन गर्न सकिने यस क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको उहाँको भनाई छ । पौराणिक कालमा जन्तीहरु जाने क्रममा अशुद्ध गरेको भन्दै त्यहिँ ठाउँमा हराएकोले यस डाँडालाई जन्ति ओलप्पिएको डाँडा भनिएको स्थानीयको भनाई छ । जन्ती जस्तै लस्करै देखिने स–साना ढुंगाहरु समेत यस डाँडामा रहेका छन् ।

यस क्षेत्रको अग्लो भूभाग भएकोले यहाँ नेपाल टेलिकम, स्थानीय एफएम रेडियो लगायतका टावरहरु समेत राखिएकोले जन्तीडाँडाको सौन्दर्य थपिएको छ । विशेषगरी यस डाँडामा ट्रेकिङ्ग रुट, प्याराग्लाइडिङ्ग, भ्यू टावर र केवुलकारको विकास गरेमा कर्णाली प्रदेशकै नमूना पर्यटकीय क्षेत्र बनाउन सकिने पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष समेत रहनुभएका स्थानीय चन्द्रबहादुर केसीले बताउनुभयो ।

यसको समग्र विकासका लागि नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग विभिन्न योजनाहरुको माग गरिएको उहाँले जानकारी दिनुभयो । गतवर्ष मात्रै यस डाँडाबाट प्याराग्लाईडिङ्गको सफल परीक्षण समेत गरिएको र दीगो रुपमा सञ्चालनका लागि लगानीको अभाव रहेको केसीको भनाई छ । मुसिकोट सल्लेदेखि जन्तीडाँडा हुँदै जाने ट्रेकिङ्ग रुटका लागि पनि गतवर्ष संसद विकास कोषबाट केही काम भएपनि पूरा गर्न बाँकी रहेको बताईएको छ ।

पूर्वाधारको विकास गर्दै यसको प्रचार प्रसारलाई व्यवस्थित गरेमा यहाँ आउने पर्यटक मार्फत स्थानीय सरकारको आम्दानी समेत बढाउने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा यहाँको पर्यटन विकासका लागि विनियोजित ३० लाख रुपैयाँ फ्रिज गरिएको भन्दै केसीले गुनासो गर्नुभयो । नजिकैको डिग्रे शाईकुमारी भगवती मन्दिर, साँख स्थित ठूली दह, मुसिकोट दरवार क्षेत्रसँगको सडक सञ्जाल जोडेमा पर्यटकको एकद्वार रुपमा आगमण हुने र यसले समग्र पर्यटन प्रवद्र्धन हुने स्थानीय देवबहादुर खड्काको भनाई छ ।

खलंगाबजारदेखि डिग्रे मन्दिर हुँदै जन्तीडाँडासम्म पु¥याउने भन्दै ठाडो सिंडी बाटो समेत निर्माण थालिएको छ । यसबाट उकालोमा रमाउँदै पैदल जाने पर्यटकका लागि उपयोगी हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्