नेकपा डोटीले स्थानीय तह स्तरमा नेतृत्व चयनको टुंगो लगायो



विमल बिष्ट, डोटी ।
तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रको स्थानीय स्तरको एकिकरण प्रकृया बिलम्ब भईरहेको बेला डोटीमा भने स्थानीय तह स्तरको एकिकरण प्रकृया अगाडी बढाईएको छ । सो पार्टीको सचिवालयले गरेको निर्णय अनुसार डोटीका ९ स्थानीय तह मध्य पाँच स्थानीय तहमा तत्कालिन नेकपा(एमाले) र चार स्थानीय तहमा तत्कालिन माओवादी केन्द्रले नेतृत्व गर्ने सर्ब सहमती भएको छ ।

सो पार्टीले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्बिचौकी गाउँपालिकामा नेकपा एमालेले नेतृत्व गर्नेछन । यसैगरि सायल गाउँपालिका, बडिकेदार गाउँपालिका, केआईसिंह गाउँपालिका र बोगटान गाउँपालिकामा तत्कालिन नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गर्नेछन ।

एकिकरण प्रकृयामा तत्कालिन एमालेले नेतृत्व गर्ने स्थानीय तहमा माओवादी केन्द्रले सचिब पद लिनेछन भने माओवादी केन्द्रले नेतृत्व गरेको स्थानमा सचिब पद तत्कालिन एमालेले प्राप्त गर्ने छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट दिपायल सिलगढी नगरपालिकाको अध्यक्ष कर्ण बिष्ट र सचिबमा जानकी भट्ट, जोरायल गाउँपालिकामा अध्यक्ष सोवान ओली र सचिबमा दिलीप सिंह बोहरा, शिखर नगरपालिकामा अध्यक्ष सागर भट्ट र सचिबमा योगेन्द्र नागरी, केआईसिंह गाउँपालिकामा अध्यक्ष दिलिप कठायत र सचिबमा तेजबहादुर माझीलाई जिम्मेवारी दिईएको छ ।

यसै गरि बोगटान गाउँपालिकाको अध्यक्षमा देबबहादुर बोहरा र सचिब बिरेन्द्र चन्द, पूर्बिचौकी गाउँपालिकाको अध्यक्षमा गोरख बोगटी र सचिबमा जयन्द्र खड्का, सायल गाउँपालिकाको अध्यक्षमा डबलबहादुर साउँद र सचिबमा केशवराज उपाध्याय, आदर्श गाउँपालिकाको अध्यक्षमा गोबिन्द पार्की र सचिबमा पूर्ण भट्राई र बडिकेदार गाउँपालिकाको अध्यक्षमा दिनेश घर्ति र सचिबमा हुकुम बोहरा चयन हुनु भएको छ ।

स्थानीय स्तरमा पदाधिकारी सदस्य चयन गर्दा कमिटीको कुल संख्याको अधारमा केन्द्र स्तर जस्तै तत्कालिन एमालेबाट ५५ प्रतिशत र तत्कालिन माओवादी केन्द्रबाट ४५ प्रतिशत पदाधिकारी सदस्य रहने बताईएको छ ।

यस्तै जिल्ला किमिटीको लागि पनि तत्कालिन नेकपा (एमाले) ले नेतृत्व गर्ने र सचिबमा तत्कालिन नेकपा –माओवादी केन्द्र ) को तर्फबाट रहने सहमती भएको छ । जिल्ला किमिटीमा रहने पदाधिकारी सदस्यको नाम केन्द्रिय सचिवालयमा सिफारिस गरि पठाईए पनि घोषणा भने नभईसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्