चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आगजनी, १० जना पक्राउ



नेपाल समाचारपत्र, चितवन ।

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मुल गेट र परिक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट परिक्षा नियन्त्रण कार्यालयको तल्लो तलामा क्षति पुगेको छ ।

कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगरे कार्यालयभित्रै बालेका थिए । प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । विद्यार्थीहरुले विश्वविद्यालयका झयालका सिसा समेत फुटाएर क्षति गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको जनाइएको छ ।

नीजि कलेजलाई दिइएको सम्वन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले विश्वविद्यालयको होस्टलमा बसेर आगजनीको योजना बनाएको प्रहरीले जनाएको छ । आगजनी गरेको आरोपमा प्रहरीले प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारी पक्राउ परेका छन् ।

विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । सर्वोच्चको आदेश कार्यान्वयनका लागि भन्दै विश्वविद्यालयले भर्ना खोलेको पदाधिकारीहरुले जनाउँदै आएका छन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपतिले सर्वोच्चको अन्तरकालिन आदेश अनुसार भर्ना प्रकृया सुरु गरिएको बताए । निर्णयअनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ । सर्वोच्चको आदेश र विश्वविद्यालयले भर्ना लिनसक्ने भन्दै विद्यार्थी संगठनहरुले गत भदौं २६ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्