बिकासको बिजयी सुरुवात



काठमाडौं, (नेस)
पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिकास श्रेष्ठ र नेपाल पुलिसका बिष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा बिजयी सुरुवात गरेका छन् ।

बिकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । सुनिलले सूर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ले, सुदीपले जेष्ट ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङ्गलाई २१–१८, २१–११ ले पाखा लगाए ।

नेपाल खेलकुद महासंघ अन्तरगत प्रतियोगिताको महिला एकल तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जित निकाले । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले जेष्टकी स्मृती राईलाई २१–८, २०–२२ र २१–१५ ले जित निकाल्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

यस्तै पहिलो चरणमा जित निकाल्दै दोश्रो चरण प्रवेश गर्ने पुरुष युगलमा ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडी पनि रहेको छ ।
मंसिर १ गते सम्म संचालन हुने प्रतियोगिताको एक कार्यक्रमविच संघीय प्रतिनिधी सभा साँसद जीवन राम श्रेष्ठ तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्