याक अट्याकमा क्यानडाका वालेसको ह्याट्रिक



नवराज पहाडी, लमजुङ
हरेक वर्ष लमजुङको बेसीसहरबाट सुरु हुने विश्वकै चर्चित अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ माउन्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानडाका करी वालेस च्याम्पियन बनेका छन् ।

सो प्रतियोगितामा ३४ वर्षीय वालेसले लगातार तीन वर्ष जितेर उपाधिमाथि ह्याट्रिक गरे । पाँच दिने दौडमा एक सय ८५ किलोमिटर दुरीलाई उनले १२ घण्टा ३० मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने संसारकै अग्लो मानिने ५ हजार ४ सय १६ मिटर उचाईको हिमाली पारीको जिल्ला मनाङ स्थित थोराङ्ला भञ्ज्याङ पास गरेर प्रतियोगीहरू मुस्ताङको कागबेनी हुँदै कालोपानी पुगेको प्रतियोगिताका व्यवस्थापक माउन्टेन बाइक (एमटीबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीले बताए ।

१४ देशका ३२ प्रतियोगीले भागल लिएको सो प्रतियोगितामा ३३ जना सहभागिमा नौ जना नेपाली थिए । उक्त प्रतियोगितामा १३ घण्टा ३१ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गरी नेपालका २४ बर्षीय रोअन तामाङ (बुद्धीबहादुर तामाङ) दोस्रो स्थानमा रहेका थिए । यसैगरी नेपालकै ओकेस बज्राचार्यले तेस्रो स्थान हासिल गर्ने क्रममा सो दुरी १३ घण्टा ३५ मिनेट एक सेकेन्डमा पार गरे ।

महिलातर्फ अष्ट्रेलियाकी ३१ बर्षीया करेन हिल पहिलो भइन् । जम्मा आठ जना महिला प्रतियोगीले भाग लिएको सौ प्रतियोयिगतामा उनले १७ घण्टा, ५९ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । त्यसैगरी, नेपालकी ३० बर्षीया लक्ष्मी मगर दोस्रो भइन् । उनले १९ घण्टा १८ मिनेट २५ सेकेन्ड समय लिएकी थिइन् । गतबर्षको प्रतियोगितामा उनी च्याम्पियन बनेकी थिइन् । २६ घण्टा, ३६ घण्टा ५८ मिनेटमा पार गरेर नेदरल्याण्डकी निन्के उस्ट्रा तेस्रो भएकी थिइन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने पुरुष र महिला वियजीलाई क्रमशः एक हजार, पाँच सय र दुई सय ५० डलर प्रदान गरिएको संस्थाका निर्देशक फिल इभान्सले बताए । प्रतियोगितामा ४० बर्ष माथि तर्फ १५ घण्टा, ३८ मिनेट १८ सेकेन्डमा पार गर्दै नेपालका हर्क लामा पहिलो भए । यस्तै, पोर्चुगलका जोसे टेक्सेरियाले १८ घण्टा समय लगाएर दोस्रो र स्पेनका जोसे मारिया अर्डेजोन तेस्रो भए । उनले १८ घण्टा ५ मिनेट ३६ सेकेन्डको समयमा सो दुरी पार गरेका हुन् ।

यसैगरी, ५० बर्ष माथिकामध्येमा बेल्जियमका पिर्रे कस्टाग्ने, सर्ज भ्यान भौचेलेन र भिसेन्ट गौभरनियर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । उनीहरूले क्रमशः १६ घण्टा २५ मिनेट ३२ सेकेन्ड र १९ घण्टा, ४७ मिनेट ४७ सेकेन्ड र २० घण्टा १२ मिनेट १३ सेकेन्डमा दौड पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्