३७ वर्षसम्म शिक्षण पेशापछि व्यावसायिक कृषिमा



सिर्जना पन्त, बागलुङ
उमेरले ६४ नाघिसक्यो, उमेरका हिसाबले यो समय भनेको आराम गर्ने समय हो । तर, उहाँको मनले आराम गर्नै मान्दैन । विहान उठेदेखि बेलुका नसुतुन्जेल खेतबारीको माटोमै लडेर बित्छ उहाँको समय । ३७ वर्षसम्म शिक्षक पेशा गर्नु भएका बागलुङ नगरपालिका ८ निवासी अनन्तबहादुर खड्का अवकाशपछि पनि थाक्नु भएको छैन ।

खड्काले बानपा ८ सिगानमा व्यावसायिक सुन्तला र तरकारी खेती गरी मनग्य आम्दानी समेत गर्दै आउनुभएको छ । सानैदेखि कृषि पेशमा लगाब भएका खड्का बाध्यताले शिक्षक भएको बताउनुहन्छ । अवकाशपछिको फुसर्दिलो समय तरकारी र सुन्तला स्याहार गर्दै व्यतित गर्ने सोचमा हुनुहुन्छ ।

खड्का धेरै युवाको प्रेरणाको स्रोत पनि बन्न सफल हुनुभएको छ । खड्काको सुन्तला बगानमा २ सय सुन्तलाको बोटमा लटरम्म सुन्तला फलेका छन् ।‘अहिलेको सिजनमै सुन्तला बेचेर तीनलाख पार्ने लक्ष्य लिएको छु,’ खड्काले भन्नुभयो–‘तरकारी खेतीबाट मात्र मासिक एकलाख आम्दानी हुँदै आएको छ ।’
खड्काले ७ लाखको लगानीमा व्यावसायिक तरकारी खेती शुरु गर्नुभएको थियो ।

हाल तरकारी बारीमा टमाटर, काउलीलगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आउनु भएको छ ।‘पेशाले शिक्षक भए पनि कृषि गर्ने मन थियो,’ खड्काले भन्नुभयो–‘हाम्रो परिवारकै प्रेरणको कारण व्यावसायिक सुन्तला र तरकारी खेती गर्दै आएको छु ।’ खड्काले हाल टमाटर, ब्रोकाउली, फँल काउली, साग उत्पादन गर्नु भएको छ ।

उत्पादित तरकारी बागलुङ बजारमानै खपत हुने उहाँको भनाइ छ । तरकारी उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको उहाँको भनाइ छ । अहिले टमाटर होलसेल प्रतिकिलोग्राम ६० रुपियाँमा बिक्री गर्दै आउनुभएको छ । धन कमाउने लोभमा धेरै युवा विदेश गएको भन्दै खड्काले मेहनत गर्न सकै स्वदेशमानै मनग्य आम्दानी गर्न सकिने बताउनहुन्छ ।

उहाँले सुन्तलाको वगैचा सुधारका लागि प्राविधिक सल्लाह समेत लिँदै आउनुभएको छ । सुन्तलाले सधै भरी एकैनासको दाना दिंँदैन त्यसैले सुन्तलाको बोटलाई पनि मलजल तथा उपचार गर्न आवश्यक रहेको खड्का बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–‘व्यावसायिक तरकाली खेतीमा लाग्दा ज्यानमा थप जागर आएको छ ।’ बाँचुन्जेल यही पेशामा रमाउने उहाँको धोको छ । उहाँले आफ्ना सन्नतीहरुलाई समेत कृषि पेशा अगाल्न सुझाव दिनुहुन्छ । कृषिसंँगै सामाजिक कार्यमा पनि क्रियाशील खड्का बागलुङका सहकारी संस्थामा पनि सक्रिय हुनुुहुन्छ । कृषि खेतीबाट बचेको समय सहकारी संघ संस्थालाई दिने गरेको उहाँको भनाइ छ । आदर्श सञ्चार सहकारी संस्था बागलुङको कोषाध्यक्षसमेत रहेनु भएका खड्काले सामाजिक काममा सहभागी हुन पाउँदा खुसी मिल्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्