जापानले दिएको चामल गोदाममै कुहियो



कृष्ण उदास खनाल, वीरगन्ज
नेपाल खाद्य संस्थानको वीरगन्जस्थित गोदाममा राखिएको ५ हजार १७९ क्विन्टल चामल समयमा नै विपन्न तथा गरिबका घरसम्म नपुग्दै सड्न थालेको छ।

जापान सरकारले गरिब तथा विपन्न र विपतमा परेका जनताले भोक टार्न पाउन भनी जापानले दिएको अनुदानको चामलमा किरा लाग्न तथा कुहिन थालेको हो ।

नौ महिनादेखि गोदाममा थन्क्याइँदा चामलको गुणस्तरतामा ह्रास आउन थालेको छ। लामो समय एकै ठाउँमा राखिराख्दा बिग्रिएको नेपाल खाद्य संस्थान वीरगन्ज शाखाका निमित्त प्रमुख अम्बिकाप्रसाद घिमिरेले बताउनुुभयो ।

सुदँरपश्चिम र गरिब, विपन्न तथा विपद्मा परेका जनताका लागि सरकारले भनेको ठाउँमा नेपाल खाद्य संस्थानले चामल उपलब्ध गराउँछ। अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन।

केन्द्रबाट ठोस निर्देशन नआएसम्म आफँहरूले मात्र चाहेर पनि कतै पठाउन नसकिने र आगामी मंसिरसम्ममा यो चामल सुर्खेतलगायत सुदँरपश्चिम, गोरखा र काठमाडौं पठाउन सकिने बताउनुभयो । गएको माघ १३ मा यो चामल वीरगन्जको सुख्खा बन्दरगाहमार्फत यहाँ आइपुगेको हो।

त्यस यता यही नेपाल खाद्य संस्थानको वीरगन्ज शाखामा नै छ। वीरगन्ज शाखाका गोदाम इन्चार्ज मुनिलाल कुसवाहले नेपालमा विदेशमा जस्तो स्तरीय गोदाम नहुँदा लामो समयसम्म सुरक्षित राख्न समस्या भएको बताउनुभयो ।
जापान सरकारले अनुदानमा दिएको चामल नेपालको गोरखा, लमजुङ, दाङ र काठमाडौंतर्फ पठाउने अन्तिम तयारी भइरहेको नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयका प्रवक्ता शंकर सापकोटाले बताउनुभयो। केन्द्रीय कार्यालयका बिक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुरले गोदामबाट चाँडै नै अन्य स्थानमा लगिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्