रक्सीको कारण पायलट प्रतिवन्धित



नयाँदिल्ली,(एजेन्सी)
भारतको उडयन नियामकले सोमवार रक्सी सेवन परिक्षणमा असफल रहेका एकजना वरिष्ठ पायलट माथि तीन वर्ष लामो उडान प्रतिवनध लगाएको छ । राज्यको स्वामित्वमा रहेको एयरलायन्स एयर इन्डियाका डाइरेक्टर अफ अपरेसन पनि रहेका क्याप्टेन अरविन्द काथपालियाले आइतवार भारतको राजधानी नयाँ दिल्लीबाट वेलायतको राजधानी लन्डन तर्फको उडान भर्ने कार्यक्रम रहेको थियो ।

अचानक उनी रक्सी परिक्षणमा असफल हुनासाथ सो उडानका लागि तत्कालै एकजना वैकल्पिक पायलटको व्यवस्था गरिएको थियो । तर क्याप्टेन काथपालियाले आफु माथि लगाइएको अभियोग अस्विकार गरेका छन् ।

उडयन निकायले उनलाई यस्तै प्रकारको अनुशासनहिन कार्य गरे वापत गत वर्ष पनि तीन महिना निलम्वन गरिएको जनाएको छ । नागरिक उडयनको उडयन निगरानी महा निर्देशनालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ , ‘ प्रचलित नियम कानुनमा उल्लेख गरिए अनुसार उनको विमान उडान अनुमति पत्र ११ नोभेम्वर देखि लागु हुने गरी तीन वर्षको अवधिका लागि निलम्वन गरिएको छ । एयर इन्डियाले पनि उनलाई ग्राउन्डेड गरिएको पुष्टि गरेको छ ।

तर क्याप्टेन काथपालियाले भने आफुलाई एयर इन्डियाको आन्तरिक कलहको शिकार बनाइएको तथा रक्सी परिक्षणको परिणामलाई चुनौति दिने बताएक छन् । उडययन नियम अनुसार विमान उडाउनु १२ घन्टा अघि देखि पायलटले रक्सी सेवन गर्न पाइँदैन । साथै उडान अगाडि तिनीहरुको रक्सी सेवन परिक्षण गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्