कुकुरलाई चक्कु प्रहार गरेपछि…



नेपाल समाचारपत्र, काठमाडौंं
काठमाडौं महानगरको वडा नंं ११ बबरमहल गणेशस्थान नजिक स्थानीय राजाराम केसीले सडकमा रहेको कुकुरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

सडकमा बस्ने कुकुरले आफ्नो घर नजिक आएर दिसापिसाब गरेपछि आक्रोशित बनेका उनले कुकुरलाई लखेटेर चक्कु प्रहार गरेका थिए । कुकुरमाथी चक्कु प्रहार भएपछि पशुअधिकारका लागि काम गरिरहेको आफा नेपालकी कार्यक्रम संयोजक शोभाश्रीलगायतका टोलीले कुकुरको संरक्षण गरी उपचार गरेका थिए ।

आइतबार बिहान साढे ६ बजेतिर कुकुरमाथि हतियार प्रहार भएपछि घाइते कुकुरलाई आथाका संयोजक शोभाश्रीलगायतका टोलीले कुकुरलाई थप उपचारका लागि काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर बुढानिलकण्ठ लगेका थिए अहिले कुकुरको त्यहीँ उपचार भएरहेको छ ।

आइतबार बिहान हतियार प्रहार भएपछि वडाध्यक्ष हीरालाल तण्डुकारले पशुअधिकारकर्मीसंग गुहार मागेका थिए । पशुअधिकारकर्मीले बाटोमा लडिरहेको कुकुरको प्राथमिक उपचार गरेका थिए । आफा नेपाल, सद्गुरु सेवा कुटुम्बको पशु अधिकार हेर्ने कार्यक्रम हो । यससँग काठमाडौं महानगरपालिकाले पशु जोखिम व्यवस्थापनमा काम गर्न सम्झौता गरेको छ ।
पेटदेखि खुट्टासम्म काटिएको कुकुरको उपचारसंगै अधिकारकर्मीले केसीलाई पक्राउ गर्न महानगरीय प्रहरी वृत सिहदरबारमा उजुरी दिएका थिए ।

कुकुरमाथि स्थानीयबाट भएको यो व्यवहार ज्यादतीपूर्ण भएको जनाउँदै अस्ति सोमबार करिब तीन दर्जन पशु अधिकारकर्मीले ३ घण्टा केसीको घर घेराउ गरेका थिए । घरमा धर्ना दिदा समेत हतियार प्रहार गर्ने केसीको परिवार नआएपछि वडाको रोहवरमा मुचुल्का उठाएको आफाकी संयोजक शाभाश्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘दोषीमाथि कारवाही गर्न महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएका छौं । पीडकलाई कारवाही नहुञ्जेल दबाबका कार्यक्रम गरिरहन्छौं ।’

महानरीय प्रहरी वृत सिहदरबारका प्रहरी निरीक्षक शिव बुढाथोकीले दोषीमाथी कारबाही गर्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो– केसीलाई खोजी गर्न दुई पटक घर गयौं, फेला पार्न सकेनौं । उहाँले सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
तस्वीर: आफा नेपाल

प्रतिक्रिया दिनुहोस्