अल्लो प्रशोधन मेसिन हस्तान्तरण



महेश न्यौपाने, रोल्पा
परम्परागत ढंगले अल्लो प्रशोधन गर्दै आएका रोल्पा सुनछहरी गाउँपालिका ७ जेल्वाङका किसानका लागि अल्लो प्रशोधन मेसिन हस्तान्तरण गरिएको छ । सुनछहरी गाउँपालिका र कोरियन एक संस्थाको संयुक्त आर्थिक सहयोगमा उक्त मेसिन हस्तान्तरण गरिएको हो । मेसिन हस्तान्तरण संगै किसानलाई अल्लो प्रशोधनमा सहजता भएको छ ।

गाउँपालिकाको ४ लाख र कोरियन संस्थाको ४ लाख गरि कुल ८ लाख रुपैयाँको लागतमा उक्त मेसिन हस्तान्तरण गरेको सुनछहरी गाउँपालिका अध्यक्ष आशवहादुर पुनमगरले जानकारी दिए । गाउँपालिकाको अनुरोधलाई कोरियन एक संस्थाले सहर्ष स्वीकार गरे संगै दुई पक्षीय सहयोगमा मेसिन हस्तान्तरण गरेका हौ अध्यक्ष पुनले भने ।

परम्परागत ढंगले अल्लो प्रशोधन गर्दा निकै सास्ती हुनुको साथै समय पनि धेरै लाग्ने भएकाले किसानहरुको सहजताका लागि यस्तो मेसिन हस्तान्तरण गरेका हौ गाउँपालिका अध्यक्ष पुनले भने । समुदायमा हस्तान्तरण गरिएको उक्त मेसिनबाट प्रशोधन गरिएको अल्लो समेत गुणस्तरीय हुने आफुहरुले अपेक्षा गरेको अध्यक्ष पुनले वताए । यसको प्रभावकारीता हेरेर आगामी दिनमा अन्य वडामा समेत यस्ता मेसिन उपलव्ध गराउन सकिने अध्यक्ष पुनको भनाई छ ।

पूर्वी रोल्पाका राष्ट्रिय वन र सामुदायिक वन तथा नीजि जग्गाहरुमा समेत प्राकृतिक रुपमा उम्रेका अल्लो प्रशस्तै मात्रामा पाईन्छ । जीविकोपार्जनको वैकल्पीक र भरपर्दो श्रोतको रुपमा यस भेगका किसानहरुले अल्लोलाई लिने गर्दछन । अनुकुल हावापानीका कारण यसको व्यवसायिक खेती गरे किसानहरुको आमदानीको श्रोत पनि वढ्ने भए पनि यस तर्फ कसैको ध्यान पुगेको देखिदैन ।

सुनछहरी गाउँपालिकाका अधिकांश वडाहरुमा अल्लोको राम्रो उत्पादन हुने भएकाले यस क्षेत्रलाई अल्लो पकेट क्षेत्रको रुपमा राखेका छौ गाउँपालिका अध्यक्ष पुनले भने । यसलाई थप प्रवद्र्धन गर्न निकट भविष्यमा विज्ञको सहजीकरणमा तालिम पनि आयोजना गर्ने सोचाई रहेको अध्यक्ष पुनले जानकारी दिए ।

जिल्लामा ठूलो मात्रामा अल्लोको धागो जिल्ला वाहिर निकासी हुने गर्दछ । जिल्लामै अल्लोवाट निर्मित कोट, झोला, पर्स, टोपी जस्ता सामानहरु समेत उत्पादन हुने भए पनि यसको व्यवसायिक ढंगले काम भने हुन सकेको छैन । जिल्लामै अल्लो उत्पादन, प्रशोधन र सामाग्री निर्माणका लागि सरकारी स्तरमा सहयोग भए धेरै युवाहरुले रोजगारी पाउनुका साथै स्थानीयहरुमा समेत आत्मनिभरता वढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्