पहिरोपीडितलाई सहयोग



दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको जलजला गाउँपालिकामा साउनमा गएको बाढी पहिरोबाट बिस्थापितको आवास बनाउन अन्तराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गर्ने भएको छ ।

समाजले जलजला गाउँपालिका वडा नं ७ र ८ का पहिरो पिडीतलाई आवास बनाउनका लागि गाउँपालिकालाई सहयोग गर्न सम्झौता भएको हो ।
आवास बनाउनका लागि जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बिचमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार समाजले एकमुष्ठ रुपमा ९ लाख रुपैंया सहयोग गरिने अध्यक्ष पुरन गिरीले बताए । ‘गाउँपालिकाले आवास बनाउने क्रममा हामीले सहयोग पुगोस भनेर एकमुष्ठ सहयोग गर्न लागेका हौ’ उनले भने ‘आवास बनाउन अपुग रकम गाउँपालिका र अन्य सहयोगी निकायबाट जुटाइने सहमति भएको छ’

पहिरो पिडितका लागि आवास बनाउन अन्तराष्ट्रिय पर्वत समाजका सदस्य रहेका बिभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीहरुले सहयोग अभियान सञ्चालन गरेका थिए । अभियानबाट संकलित रकम समाजले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सम्झौता अनुसार गाउँपालिकाले एक बर्ष भित्रमा आवास निर्माण र मर्मतको काम सम्पन्न गरि सक्नुपर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

जलजला गाउँपालिकामा दुई दर्जन घरमा पुर्ण र आँशिक रुपमा क्षति पुगेको छ । घरमा बस्नै नहुने गरि आधा दर्जन घर बगाएको छ भने अन्य घरहरु सामान्य मर्मत र पहिरो रोकथामका लागि तार जाली लगाएमा बस्न सकिने अवस्थामा छन । बिस्थापितहरु मध्ये पुर्ण रुपमा क्षति भएका घर पुरै निर्माण गर्ने र मर्मत गरेर बस्न सकिने घरहरुमा मर्मत गरिने गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । ‘गाउँपालिकाले ठुलो खर्च गरेर घर बनाउने भन्दा पनि पुरै बनाउनु पर्ने घरलाई पुरै निर्माण र मर्मत गर्न सकिने अवस्थामा मर्मत गरेर पुर्नस्थापित गर्ने योजना बनाएका हौ’

बाढी पहिरो पिडीतका लागि लायन्स क्लबहरु, बिभिन्न सामाजिक संस्था र ब्यक्तिगत रुपमा समेत गाउँपालिकालाई सहयोग भैरहेको छ । सहयोग रकमबाट अपुग हुने रकम गाउँपालिकाले ब्यबस्था गर्ने अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्