छठघाटमा श्रद्धालुको मानवसागर



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्जसहित मध्य तराईका श्रद्धालु भक्तजनहरुले मंगलबार अस्ताउँदो सूर्यलाई अर्ध दिय छठ पर्व मनाएका छन् ।

निकै श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवतरुपमा सुरु भएको हो । आइतबारदेखि विधिवतरुपमा सुरु छठ पर्वको दोस्रो दिन सोमवार व्रतालुहरूले गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालुहरू दिनभर उपवास बसेका थिए ।
सोमबार बेलुकी भने व्रतालुहरूले नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाइ त्यसैमा चामल र भेलीको खिर रसीआव तथा गहुँको रोटी प्रसादका रूपमा पकाएका थिए । उक्त प्रसादलाई रसीआव रोटी भनिन्छ ।

उक्त प्रसाद सोमबार बेलुकी व्रतालुहरूले चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि प्रसाद ग्रहण गरेर निर्जल व्रत सुरु गरेका हुन् ।खरनाको भोलिपल्ट अर्थात् मङ्गलवार परेको षष्ठी तिथिका दिन छठको मुख्य दिन हो ।

यस दिनलाई सँझिया घाट भनिन्छ । व्रतालुहरू मङ्गलवार दिउँसोको समयमा नुहाइ चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, तलाउसहितका जलाशयमा तयार पारिएको छठीघाटमा गइ सूर्धको आराधाना गरेका हुन्।
छठीघाटमा चोखो माटोले बनाइएको पूजा स्थल सिर सोता छेउमा बसेर व्रतालुहरूले छठी माता र सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाउँछन् । मङ्गलवार साँझ पख अस्ताउदै गरेका सूर्य भगवान् र छठी मातालाई व्रतालुहरूले जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनमा उखु,काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछेता, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ दिएका छन् ।

अब बुधबार सप्तमी तिथिका दिन बिहान झिमिसेमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी चोखो भई पूजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्ने चलन छ।सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनमा सजाएर राखिएको प्रसाद, फलफुल लिएर छठघाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठीमातालाइ अर्घ दिएसँगै यो बर्षको छठ पूजा समापन हुनेछ।

यसैबीच तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पूजालाई तराइ मधेसका भोजपुरी र मैथीलीभाषीको महान पर्व भनिए पनि पछिल्लो समय तराई मधेसमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि छठ पूजा मनाउन थालिएको छ ।छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेसका केही केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ ।

पर्साको जीराभवानी गाउँपालिका २ सेढवाकी मुस्लिम महिला अम्बया खातुनले आठ वर्ष देखि हिन्दुको पर्व छठ मनाउँदै आएको बताइन्। यसरी नै छठ पर्व पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । डेढ दशकदेखि छठ पूजा गर्दै आएकी वीरगन्ज माइस्थान टोलकी सुप्रिया श्रेष्ठलेको परिवारले यसपालि पनि छठ पर्व मनाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्