आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय



नेपाल समाचारपत्र, पर्वत
जिल्ला प्रहरी कार्यालय पर्वतले आर्थिक अपराध नियन्त्रण अभियान शुरु गरेको छ । केही दिन अघि समुदाय सँग साझेदारी कार्यक्रमको शुरुवात सँगै प्रहरीले पर्वतमा आर्थिक अपराध नियन्त्रण अभियान शुरु गरेको हो ।

पछिल्लो समयमा विभिन्न व्यक्तिहरुबाट आर्थिक रुपमा पिडित भएका गुनासो बढ्दै गएपछि प्रहरीले अभियानकै रुपमा सञ्चालन गर्न लागेको हो । सामाजिक रुपमा हुने अधिकांश अपराधहरु आर्थिककै कारण घटिरहेको प्रसंग औल्याउँदै जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी भुवनेश्वर तिवारीले उक्त अपराधलाई न्यूनिकरण गर्न अभियान सञ्चालन गरेको बताए ।

प्रहरीले जिल्लामा सञ्चालित बैंक, सहकारी, फाइनान्स तथा अन्य विभिन्न वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तक्रिया समेत सञ्चालन गरेको छ । अन्तरक्रियाका क्रममा समेत वित्तीय संस्थाका प्रतिनिधिहरुबाट थप सुझाव संकलन गरी अभियानलाई सक्रिय रुपमा अघि बढाइने डिएसपी तिवारीले बताउनुभयो ।

पर्वतमा विशेषतः अबैध रुपमा ढुकुडी सञ्चालन सँगै केही सहकारीहरुले मिटर व्याजमा ऋण लगानी गर्ने गरेको गुनासो आएको डिएसपी तिवारीले जानकारी दिनुभयो । त्यसका साथै ग्रामीण क्षेत्रमा पुगेका विभिन्न वित्तीय संस्थाहरुले आयआर्जनका क्षेत्रमा लगानी गर्ने उद्देश्यले ऋण प्रवाह गर्ने र ऋण तिर्न नसक्दा पिडित बनेको गुनासो समेत प्रहरी समक्ष आएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतमा आर्थिक अपराध सम्बन्धि अभियान सञ्चालन गरेको पहिलो पटक हो । यस अघि सामान्य गुनासोहरु आएपनि प्रहरीले दोहोरो सहमतिमा मिल्न लगाउने र मिलाएर पठाउने मात्रै गरेको थियो ।

पछिल्लो समयमा आर्थिक कारोबारकै कारण धेरैको घरबार विग्रिएको र अपराधिक श्रृङखला समेत बढ्दै गएपछि अभियान सञ्चालन गरिएको डिएसपी तिवारीले बताउनुभयो । आर्थिक रुपमा कोही पिडित भएको वास्ताविक प्रमाणका साथ उजुरी तथा सूचना प्राप्त भएमा कुनै पनि संघ संस्था तथा व्यक्तिलाई कानुनी कार्बाहीको दायरामा ल्याएरै छाड्ने डिएसपी तिवारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रहरीले बैंक, सहकारी तथा वित्तीय संस्थाहरुलाई आर्थिक कारोबार सञ्चालन गर्दा कानून भन्दा बाहिर गएर कारोबार सञ्चालन नगर्न सुझाव दिएको छ । त्यसका साथै अन्य क्षेत्रबाट पनि कुनै व्यक्ति वा संस्था प्रभावित हुने गरी अबैध रुपमा कारोबार सञ्चालन गरेको पाएमा सूचना दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्