शिक्षा मन्त्रालयमा समस्यै समस्या



ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ नया निर्देशिका जारी गरेर काम भएको दाबी गरेतापनि मुख्य काम हुन सकेको छैन ।

विभिन्न समितिले बुझाएको प्रतिवेदन सबै दराजमा थन्किएका छन् । कर्मचारी सरुवा अस्तब्यस्त बनेको छ । पछिल्लो समय सहसचिव सुर्यप्रसाद गौतमको समितिले तयार गरेको संघीय शिक्षा ऐनको काम अघि बढ्न सकेको छैन ।
मुलुक संघीयतामा गैसकेको र शिक्षाका अधिकांस काम स्थानीय तहबाट भैरहेको अवस्थामा सो ऐन कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा मन्त्रीको ध्यान पुग्न सकेको छैन ।

तयार भएको मस्यौदामाथि छलफल गरी, कानुन र अर्थ मन्त्रालयमा छलफल गरी मन्त्रिपरिषदमा पेश गर्ने विषयमा मन्त्री मौन देखिनुभएको छ ।
मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रीको ध्यान ऐन बनाउने तिर नभै विभिन्न कार्यक्रमको उद्घाटन र नया निर्देशिका जारी गर्ने तर्फ देखिएको छ । मन्त्रीले ऐन ल्याउने विषयमा वास्ता नगरेको आरोप कर्मचारीहरुले लगाएका छन ।

कर्मचारीको आरोप मन्त्रीले वास्ता गरेनन

झण्डै चारसयको हाराहारीका उपसचिव लगायतका कर्मचारी सरुवा भए पनि ती मध्य अधिकांस कर्मचारी असन्तुष्ट छन् , कर्मचारी सरुवा कसरी व्यवस्थापन गर्ने ? भन्न्ने विषयमा मन्त्रीको ध्यानै गएको छैन–उच्च स्रोतले भन्यो ।
शिक्षक र विद्यालय व्यवस्थापन गर्ने विषय उठान नै गर्न सक्नुभएको छैन ।

पुर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा गठित समितिले बुझाएको शिक्षक दरबन्दी मिलान गर्ने विषयमा पनि कुनै काम अघि बढेको छैन । प्रतिवेदन बुझ्यो, थन्क्याइयो , प्रतिवेदनमा उल्लेख भएका विषय कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा मन्त्री ज्यूलाई मतलब नै छैन–कर्मचारीहरुले आरोप लगाएका छन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको टाउको दुखाइको विषय रहेको शिक्षक व्यवस्थापन र दरबन्दीको विषय अन्योल देखिएको छ । मन्त्रीसंग कुरा ग¥यो, काम गर्छु भन्नुहुन्छ , केही कामै भएको देखिदैन–स्रोतले भन्यो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अवस्था त्यस्तै छ । उप महानिर्देकको जिम्मेवारी पाएका चार सहसचिवले काम गर्न पाएका छैनन । काम गर्न नपाएका चार सहसचिवको एउटै गुनासो छ– जिम्मेवारी दिए पो काम गर्ने ?
अहिले केन्द्रका महानिर्देशक एवं सहसचिव वावुराम पौडेलले मात्र जिम्मेवारी अनुसार काम गरिरहनुभएको छ । अन्य सहसचिवले कुनै काम पाएका छैनन । झण्डै चार महिना अघि उपमहानिर्देकको जिम्मेवारी पाएका सहसचिव लगभग काम विहीन अवस्थामा छन्–केन्द्रका एक कर्मचारीले नेपाल समाचारपत्रसंग भने ।

सहसचिवहरु खगेन्द्र नेपाल, चुडामणी पौडेल, टेकनारायण पाण्डे र दीपक शर्मा काम विहीन अवस्थामा छन् । भर्खरै उप महानिर्देशकहरुलाई विभिन्न शाखाको जिम्मेवारी दिएपनि के काम गर्ने भन्ने विषयमा उल्लेख छैन–एक सहसचिवले भने । परीक्षा नियन्त्रण कार्यालयको सम्पुर्ण कामको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले लिएपछि त्यहा कार्यरत सहसचिव रामशरण सापकोटा समेत काम विहीन बन्न पुग्नुभएको छ ।

समस्यै समस्याले जगडिएको मन्त्रालयको समस्या हल गर्ने जिम्मेवारी पाएका सचिव खगराज बराल प्राय मौन देखिनुभएको छ ।
सचिवले त मन्त्रीसंग आवश्यक अनुसार भेट गर्न पाउनुहुदैन कसरी समस्या समाधान गर्न सक्नुहुन्छ–मन्त्रालयका एक उच्च अधिकारीले भने ।
मन्त्रीले मन्त्रालयल र आफ्नो मातहतका निकायको समस्या समाधान गर्ने विषयमा चासो देखाउन नसक्दा समस्या बढ्दै गएको मन्त्रालयका कर्मचारीले आरोप लगाएका छन । सचिवले त मन्त्रीसंग भनेको समयमा भेट गर्न पाउदैनन भने हामीले कसरी भेट गर्ने ? मन्त्रालयका एक कर्मचारीले भने । तर मन्त्री पोखरेलले आफनो कार्यकालमा धेरै सुधार भइरहेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्