देवानी संहिताको व्यावहारिक पक्ष



लामो समय कार्यान्वयनमा रहेको मुलुकी ऐनलाई विस्थापित गर्दै नेपालमा नयाँ मुलुकी देवानी संहिता लागू भएको छ । भर्खरै कार्यान्वयनमा आएको देवानी तथा फौजदारी संहितासँगै केही आशा र केही निराशाहरुसमेत पलाएका छन् । पछिल्लो समय संहिताका केही बुँदाहरुका कारण प्रेस स्वतन्त्रता, प्रहरी संगठनको स्वतन्त्रता, यातायात क्षेत्र तथा स्वास्थ्य क्षेत्रमा गरिएको कडाइलगायतका विषयमा प्रश्नहरु उठेको भए पनि संहिता लागू भएयता त्यसको प्रभावका कारण देखिएको परिवर्तन भने विवाहपछिको सम्बन्ध विच्छेदमा छ ।

मौलिक हकहरुलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउनका लागि र कार्यान्वयनमा ल्याउनका लागि सहयोगी बन्ने गरी बनाइएको संहिताका कारण सम्बन्ध विच्छेदले प्रश्रय पाएको छ । मुलुकी ऐनका विभिन्न समयमा भएका संशोधनहरुले सम्बन्ध विच्छेदलाई केही हदसम्म कडाइका साथ राखेको भए पनि पछिल्लो समयको देवानी फौजदारी संहिताले बनाएको खुकुलोपनका कारण महिला तथा पुरुषहरु दुवै सम्बन्ध विच्छेदमा लालायित देखिएका छन् । जिल्ला अदालतहरुमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये पुरुषले सम्बन्ध विच्छेद चाहेर दर्ता भएका मुद्दाको संख्या बढी हुनु अर्को महत्वपूर्ण कुरा हो । पुरुषले चाहेको खण्डमा अदालतले सम्बन्ध विच्छेदको फैसला गर्न सक्ने व्यवस्था यो भन्दा पहिलेको कानुनमा थिएन ।

एकातर्फ देशको परिस्थितिका कारण रोजगारीलगायतका कामको सिलसिलामा पुरुषहरु बाहिर रहने र महिलाहरु घरमा रहँदा भावनात्मक सम्बन्धमा चिसोपना देखा पर्दै जानु र अर्कोतर्फ बढ्दो प्रविधिको प्रयोगका कारण पुरुष–महिला दुवैले प्रविधिको प्रयोगमार्फत आफ्नो जीवनसाथीभन्दा अर्को कोही व्यक्तिसँग भावनात्मक सम्बन्धलाई विस्तार गर्ने गरेका कारण सम्बन्ध विच्छेद गर्न चाहने र स्वतन्त्र भएर बाँच्न चाहनेहरुको संख्या बढ्दै गैरहेको छ । पश्चिमाहरुको सिको गरेर एकल जीवन बिताउन चाहनेहरुको समेत संख्या बढ्दै छ । कानुनीरुपमा अड्चन रहेकै कारण चाहेर पनि सम्बन्ध विच्छेदको चरणमा पुगेकाहरुलाई रोकिएको भएपछि पछिल्लो समय कार्यान्वयनमा आएको कानुनले सहजता प्रदान गर्दा यो संख्या बढेको हो ।

कानुनी सहजता अप्ठेरोमा परेकाहरुलाई मात्रै हो । यो जो कोहीको सहजताका लागि वा कुनै मिलेको परिवारमा भाँडभैलो नचाउनका लागि गरिएको हैन । कानुनको सही सदुपयोग गरेर हुने र मिल्नेसम्म मेलमिलाप गरेर हरेक परिवार सुन्दर बनाउन सबैमा चेतनाको खाँचो देखिएको छ । कानुनको दुरुपयोग गरेर व्यक्तिगत आकांक्षा पूरा गर्नकै लागि सम्बन्ध विच्छेद गरेर सुन्दर घर बिग्रिन नदिनको लागि सामाजिक स्तरमा चेतना फैलाउन र कानुनको सही सदुपयोग गराउन सरोकारवालाले समयमै ध्यान दिन आवश्यक छ ।
– सावित्रा सुनार, बैतडी ।

प्रतिक्रिया दिनुहोस्