यसरी सफा हुँदै छ बाग्मती



सुरेश तामाङ, काठमाडौं ।
डुङडुङती गन्ध र कालो लेदो सहितको ढल बग्ने बाग्मती नदीलाई पहिलाकै अबस्थामा ल्याउने प्रयास जारी राखेको छ । यसको लागि अधिकार सम्पन्न बाग्मती एकीकृत विकास समिति खटिरहेको छ ।

देशको मुख्य राजधानी काठमाडौंमा बढ्दो औद्योगिकरण र जनसंख्याको उच्च चापका कारण बाग्मती नदीको यस्तो हविगत भएको जानकारहरु बताउँछन् । जसका कारण बाग्मती नदी कुरुप बनेको छ ।

कुनै समय यस नदी सफा र स्वच्छ पानी बग्थ्यो । अप्रशोधित ढल सीधै नदीमा मिसाउनाले, नदी किनारमा ठोस फोहोर थुपार्नाले, मुहानमा पानी घट्दै जानाले पनि वाग्मतीमा बग्ने पानीको बहावको मात्रा कम हुँदै जानाले, नदी अतिक्रमणमा परी नदीको भाग साँघुरो हुनाले बाग्मत कुरु बनेको जानकारहरुको भनाई रहेको छ ।

समितिले बाग्मती बचाउने प्रयासले नदीको स्वरुप फेर्ने दिन भने निश्चित प्राय छ । यसको मतलब मृत अबस्थामा रहेको बाग्मतीमा धेरै सुधारका कामहरु भैरहेको छ ।

समितिका वरिष्ठ इन्जिनियर प्रभाव श्रेष्ठले नदीलाई स्वच्छ, सफा, हराभरा र जीवन्त नदी प्रणाली कायम गर्न विभिन्न निकायले काम गरिरहेको बताउनुभयो ।

‘नदी जलाधार संस्था गठन, नदीको तटीय क्षेत्रमा बाढी पूर्वानुमान तथा सचेत सूचना प्रणालीको स्थापना, नदी तटीय विकास गुरुयोजना बनाउने लगायतका काम समितिले गरिरहेको छ ।,’ समितिका वरिष्ठ इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

नदीमा पानीको बहावको मात्रालाई बढाउनका लागि ड्याम बनाउने, जसमा वर्षाको पानी जम्मा हुने र नदीलाई आवश्यक पानीको बहावको मात्रालाई बढाउन सहयोग गर्द छ । यसको मद्दतले सुख्खा याममा पनि उही बहावमा पानी बग्न पाउँछ । त्यसका लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गर्दछ ।

समितिअन्तर्गतका वाग्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना र वाग्मती सुधार आयोजनाले भने नदी किनारको दुवै पट्टि ढल निर्माण गर्ने, दुवै किनारमा १४–१४ किमि लामो पर्खाल निर्माण, २५ सय घरधुरीलाई आकाशे पानी सङ्कलन प्रविधि जडान, नदी नियन्त्रण, धार परिवर्तन कार्य गर्ने, बाटो निर्माण कार्य गर्ने, हरियाली क्षेत्र विकास कार्य तथा नदीको वातावरणीय सुधार कार्य, ढल प्रशोधन कार्य गर्दछ । त्यस्तै समितिले वाग्मतीका सहायक नदीहरु नख्खु, काड्कु, हनुमन्ते, मनोहरा, धोवीघाट, विष्णुमती र बल्खु खोलामा पनि काम गरिरहेको छ ।

सुन्दरीजलदेखि सुन्दरीघाट चोभारसम्म वाग्मती नदीको लम्बाइ साढे २८ किमि (उपत्यका भित्र) छ । समितिले गोकर्ण–गुह्येश्वरी, सुन्दरीजल–गोकर्ण, तिलगङ्गा–मनोहरा दोभान र मनोहरा दोभान–सुन्दरीघाट चोभार गरी चार खण्डमा विभाजन गरेर वाग्मतीलाई पुनर्जी्वित गर्ने काम गरिरहेको छ ।
समिति मातहत हुने यी कार्य गर्नका लागि ३६ मिलियन यूएस डलर खर्चिने अनुमान गरिएको छ । एडीबीको ४.५ मिलियन अनुदान र २५.५ मिलियन सहुलियत ऋणसहित ३० मिलियन र नेपाल सरकारले ६ मिलियन सहयोग हुनेछ । वाग्मती नदीको सम्पूर्ण कार्यप्रगति ५५ प्रतिशत सम्पन्न भइसकेकोले अबको पाँच वर्षको बीचमा वाग्मती नदीमा स्वच्छ नीलो पानी बग्ने सम्भावना रहेको समितिले दाबी गरेको छ ।


समितिले हालसम्म गोकर्ण–गुह्येश्वरी–तिलगङ्गा–शङ्खमुल–मनोहरा दोभानसम्मको नदी क्षेत्रलाई पूरै ढलमुक्त बनाइसकेको छ भने वाग्मती नदीको उपत्यका क्षेत्रभित्र बाँकी रहेको भाग पूर्ण रुपमा ढलमुक्त बनाउन अझै ३ देखि ४ वर्ष समय लाग्ने आँकलन गरिएको छ ।

नदीको सहायक खोलाहरु बल्खु खोलामा ढल विछ्यानका लागि सम्झौता भइसकेको, नख्खु र टुकुचा खोलामा ढल हाल्न अध्ययन भइरहेको समितिले जनायो । वाग्मती नदीलाई मात्रै ढलमुक्त पारेर वाग्मती सफा नहुने हुनाले वाग्मतीसँग जोडिएको सहायक खोलालाई पनि ढल मुक्त पार्न यस्तो गरिएको हो ।

धार्मिक रुपमा विशेष महत्व बोकेको बाग्मती नदीको सफाईमा पनि समितिलाई दवाव परेको समितिको बुझाई रहेको छ । नदीको वर्णन विभिन्न पुराणहरुमा उल्लेख गरिएको पाईन्छ ।

स्वयम्भू पुराणमा वाग्मतीको वर्णन गरिएको छ । वाग्मती नदीको महिमा वराह पुराणमा पनि उल्लेख गरिएको छ । वाग्मती नदीलाई गङ्गा नदीभन्दा सय गुणा पवित्र मानिन्छ । वाग्मतीलाई महानदीमा गणना गर्ने भएकोले शास्त्रअनुसार महानदीमा वर्षामा नुहाउँदा पनि दोष लाग्दैन ।

नदीको व्यवस्थापनमा अहिले पनि सुकुम्बासी नै रहेको समितिले जनाएको छ । उपत्यकाभित्र रहेको वाग्मती नदीको २८ किमि खण्डमा २ सय रोपनीभन्दा बढी जग्गा अतिक्रमण भएको अनुमान गरिएको छ । समितिका नापी शाखा प्रमुख केदारप्रसाद देवका अनुसार तिलगङ्गादेखि मनोहरा दोभानसम्मको ४ हजार ८ सय मिटर दूरीमा सबैभन्दा बढी अतिक्रमण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्