सिण्डीकेट अपराध भएकाले अपराधीलाई सजायँ हुन्छः गृहमन्त्री थापा



म्याग्दी ।
गृहमन्त्री रामबहादुर थापाले सिण्डीकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डीकेट गर्ने अपराधीलाई कार्वाही गरिने बताउनुभएको छ । म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालित स्तरीय सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उहाँले सिण्डीकेटको पूर्णरुपमा अन्त्य गर्ने बताउनुभएको हो ।

गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डीकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा यसको अन्त्यका लागि सरकारले ध्यान दिइरहेको बताउनुभयो । उहाँले सिण्डीकेट गर्नु गैरकानुनी भएको बताउँदै सिण्डीकेट अपराधको रुपमा परिभाषित गरिएकाले यस्तो क्रियाकलाप गर्नु कानुनी रुपमा अपराध भएको हुँदा अपराधीलाई राज्यले निश्चित रुपमा सजायँ दिने बताउनुभएको छ ।

यातायातका क्षेत्रमा रहेको सिण्डीकेटको अन्त्य र व्यवस्थापनका लागि यातायात मन्त्रालयले कार्यदल गठन गरेको बताउँदै गृहमन्त्री थापाले कार्यदलमार्फत काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले देशको सबै ठाउँमा सिण्डीकेट रहेकाले विकासले गति लिन नसकेको बताउँदै सबै ठाउँमा भएको सिण्डीकेटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘सिण्डीकेट यातायात, शिक्षा, स्वास्थ्य र विद्युतलगायत सबै ठाउँमा छ, सबै मिलेर यसको अन्त्य गर्नुपछ ।’ देशलाई गरिबी र दरिद्र बनाउन सिण्डीकेटले भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

गृहमन्त्री थापाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य भएको बताउनुभयो । उहाँले नेपाललाई विकसित, समृद्ध र सभ्य मुलुकका रुपमा परिणत गरिने भन्दै देशलाई छिटोभन्दा छिटो विकासको गतिमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले सबै नेपालीहरुलाई सुखी बनाउन देशमा रहेको गरिबी, बेरोजगारी र अशिक्षा हटाउन आवश्यक रहेको बताउनुभएको थियो । देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउन सरकार लागिपरेको मन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्